सरकार परिवर्तनको कुरा हल्ला मात्र हो : परराष्ट्रमन्त्री राणा

हिमाल प्रेस १२ वैशाख २०८२ १४:४५ | Friday, April 25, 2025
सरकार परिवर्तनको कुरा हल्ला मात्र हो : परराष्ट्रमन्त्री राणा परराष्ट्रमन्त्री आरजु राणा देउवा

काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्लामात्र भएको बताएका छन्।

थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको भन्दै यो कसैले मनोरञ्जनका लागि चलाएको हल्लामात्रै भएको बताइन्।

कांग्रेस सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा उनले सभापतिजी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको स्पष्ट गरिन्।

आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको बताउँदै मन्त्री राणाले बिहीबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गरेको जानकारी दिइन्।

उनले संयुक्त राष्ट्रसंघीय कार्यक्रममा अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको अध्यक्षता गरेको जानकारी दिइन्। यस क्रममा साझा चासोका विषयहरूका बारेमा नेपालका तर्फबाट धारणा राखेको उनले बताइन्।

साथै भ्रमणका क्रममा आफूले नेपालले जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादका बारेमा प्रतिनिधिहरूलाई जानकारी दिनुका साथै उच्च तहको सहभागिताका लागि आमन्त्रण गरेको जानकारी पनि मन्त्री राणाले दिइन्।

मन्त्री राणा एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षता गरी स्वदेश फकिएकी हुन्।
परराष्ट्रमन्त्री राणासँगै नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनका श्रीमान शेरबहादुर देउवा पनि स्वदेश फर्किएका छन्। थाइल्याण्ड भ्रमणमा छुट्टाछुट्टै गए पनि दुवै जना सँगै स्वदेश फर्किएका हुन्।

प्रकाशित: १२ वैशाख २०८२ १४:४५ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast