सकियो लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५

हिमाल प्रेस ११ वैशाख २०८२ २०:५८ | Thursday, April 24, 2025
सकियो लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५

लुम्बिनी– बुद्धजन्मस्थल विश्वसम्पदा स्थलमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ गरिएको छ।

बुधबार र विहिबार लुम्बिनीमा विभिन्न विज्ञहरु सम्मिलित सम्पदा सम्मेलन गरिएको हो। विहिबार सम्मेलनको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) ले समापन गरेका हुन्।

विश्व सम्पदा सम्मेलनले लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनमा ठूलो सहयोग पुगेको धारणा व्यक्त गर्दै सम्मेलन समापन घोषणा गरेका हुन्।

लुम्बिनी विकास कोषको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, युनेस्को र इकोमोस नेपालको सहयोगमा आयोजित सम्मेलनले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको संरक्षणबारे स्थलगत अनुगमन निरीक्षण गर्दै लुम्बिनीको पुरातात्विक महत्व, संरक्षण, अनुसन्धान र लुम्बिनीलाई आध्यात्मिक बनाउने विषयमा विशेषरुपमा छलफल र विमर्श गरिएको थियो।

सम्मेलनमा लुम्बिनी विकास कोषका सदस्य सचीव सानुराज शाक्यले पुरातत्व विभाग र युनेस्कोले दिएको निर्देशन र सुझावको आधारमा गरेको कार्यप्रगती प्रस्तुत गरेका थिए।

सम्मेलनमा डरहम विश्वविद्यालय युकेका प्राध्यापक रोबिन कानिङघम्ले पुरातात्विक खोज तथा अनुसन्धानबारे कार्यपत्र प्रस्तुत गरे भने लुम्बिनी विकास कोषको विश्व सम्पदा इकाईका वरिष्ठ निर्देशक तथा प्रमुख ज्ञानिन राईले तीर्थयात्रा व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

सम्मेलनमा सम्पदा व्यवस्थापनमा अन्तर्राष्ट्रिय विशेषज्ञ डा. काई वाईजेले पुरातात्त्विक महत्त्वका बारेमा प्रस्तुती राखे। यसैगरी गुम्बा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष गेशे जिग्दोलले लुम्बिनीमा धार्मिक महत्त्व बारे चर्चा गरेका थिए।

दुई दिन आयोजना भएको उक्त सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवर्द्धन र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वरिपरि भइरहेका पूर्वाधार निर्माण र प्रदूषणका कारण परेको प्रभावबारे सुधारको लागि पहल गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ वैशाख २०८२ २०:५८ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast