 
                             
                                            काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ।विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो।
उपसमितिका संयोजक सांसद राजेन्द्र लिङ्गदेनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको बताएका छन्।
उनले विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै उपसमितिले थप अध्ययन र दोषीलाई कारबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।
लिङ्गदेनले पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि विभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको बताए। १४ अर्ब लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पु¥याइएको उनले बताए।
लिङ्गदेनले अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको, निर्माण कार्यमा कमसल सामग्री प्रयोग गरिएकोलगायतका भ्रष्टाचार भएको बताए।
उपसमितिले विमानस्थललाई पूर्णरूपमा निर्माण गरेर व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिल्यान्यास गरेकोमा उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७९ पुस १७ गते गरेका थिए।
चीनको एक्जिम बैंकको ऋण सम्झौतामा सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले २२ अर्ब ६१ करोड रुपैयाँमा विमानस्थल निर्माण गरेको हो। नेपाल सरकारले मुआब्जालगायतका काममा चार अर्बभन्दा बढी खर्च गरिसकेको छ।
निर्माणमा नेपाल सरकार र चिनियाँ एक्जिम बैंकबीच भएको सम्झौताअनुसार सात वर्षको ग्रेस अवधि (कुनै पनि ब्याज तिर्नु नपर्ने समय) सहित २० वर्ष अवधिमा सम्पूर्ण ऋण चुक्ता गरिसक्नुपर्नेछ।
नेपालले १ अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन (२५ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ) ऋण लिएकोमा २० वर्षसम्म साँवा र ब्याज गरी २ अर्ब ७६ करोड ४४ लाख २० हजार ५५८ युआन (५२ अर्ब रुपैयाँ) भुक्तान गर्नुपर्छ। ब्याजमात्रै ९ अर्ब ९२ करोडभन्दा बढी पर्छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 