पूर्वप्रेमीको ‘फेक आइडी’ बनाएर चरित्रहत्या गरेको आरोपमा विमानस्थलबाट एक पक्राउ

हिमाल प्रेस १ वैशाख २०८२ ५:५१ | Monday, April 14, 2025
पूर्वप्रेमीको ‘फेक आइडी’ बनाएर चरित्रहत्या गरेको आरोपमा विमानस्थलबाट एक पक्राउ

काठमाडौँ- पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्रहत्या गर्ने महिला पक्राउ परेकी छन्। सो आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाईसमेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारलाई नेपाल प्रहरीले पक्राउ गरेको हो।

आफूसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्त ‘फेक आइडी’बाट गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेको भन्ने निवेदनका आधारमा साइबर ब्युरोले परियारलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकी ती महिलालाई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए। पक्राउ परेकी ती महिलालाई प्रहरीले आज सार्वजनिक गरेको हो।

पीडित पुरुषको जाहेरीपछि प्रहरीले निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा गत पुसमा मुद्दा दर्ता गरेको थियो। त्यसलगत्तै बिन्दु फरार भएकी थिइन्।

उनलाई खोजी गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी गरेको थियो। वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा ती महिलालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८२ ५:५१ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast