नयाँ वर्षमा शिक्षा, स्वास्थ्य र सुशासनमा सुधारको संकल्प गरौं : सभामुख घिमिरे

हिमाल प्रेस १ वैशाख २०८२ ११:४५ | Monday, April 14, 2025
नयाँ वर्षमा शिक्षा, स्वास्थ्य र सुशासनमा सुधारको संकल्प गरौं : सभामुख घिमिरे सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गरेका छन्।

नववर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि स्थायित्व, विकास र सामाजिक न्यायका आधारहरूलाई सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले भने,‘हामीले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र शान्ति प्रक्रियाको संस्थागत अभ्यास सुरु गरिसकेका छौं। यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो।’

उनले प्राप्त राजनीतिक परिवर्तनको यात्रा उल्ट्याउनु हुँदैन भन्दै देशलाई अगाडि बढाउन भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरू बलियो बनाउँदै पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे।

शुभकामना सन्देशमा सभामुख घिमिरेले नेपाली समाजमा आपसी मेलमिलाप, एकता, समृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको विश्वास थप मजबुत हुने अपेक्षा व्यक्त गरे।

उनले नयाँ वर्षलाई सांस्कृतिक र सामाजिक परम्परासँग गहिरो सम्बन्ध रहेको भन्दै यसलाई नवीकरणको प्रतीकको रूपमा लिनु पर्ने धारणा व्यक्त गरे। ‘नयाँ वर्षले नयाँ लक्ष्य निर्धारण गर्न, सकारात्मक परिवर्तनलाई आत्मसात गर्न र एकताको भावना विकास गर्न प्रेरणा दिन्छ,’ उनले भने।

प्रकाशित: १ वैशाख २०८२ ११:४५ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast