दाउन्नेमा सुक्खा पहिरो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हिमाल प्रेस ९ वैशाख २०८२ १४:५५ | Tuesday, April 22, 2025
दाउन्नेमा सुक्खा पहिरो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रस्थित सडक अवरुद्ध भएपछि जाममा परेका सवारीसाधन। तस्बिर : रासस

लुम्बिनी- पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा सुक्खा पहिरो खस्दा मंगलबार मध्याह्नदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक विस्तार क्रममा पहाड काट्ने र पर्खाल लगाउने काम चलिरहेका बेला सुक्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार बाटो खोल्ने प्रयास भइरहेका छ। ‘काम भइरहेको बेला सडक तलबाट भासिएको छ, अहिले सडक खुलाउने प्रयास जारी छ’, उनले भने।

दाउन्ने सडकखण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो गएको हो। पहिरो खसेपछि साना सवारी र यात्रुवाहक बसका यात्रुलाई झारेर सवारी पास गराइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए।

सडक अवरुद्ध भएपछि मालवाहक र ठूला सवारीसाधान पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएका छन्।

पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जनक बन्जाराले बताए। दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको छ। दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ।

दाउन्नेमा मंगलबार गएको सुक्खा पहिरो। तस्बिर : हिमालप्रेस
प्रकाशित: ९ वैशाख २०८२ १४:५५ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast