ठूला दलका कारण यथास्थिति र पुनरुत्थानवादी सक्रिय भए : भट्टराई

हिमाल प्रेस १२ वैशाख २०८२ १४:४२ | Friday, April 25, 2025
ठूला दलका कारण यथास्थिति र पुनरुत्थानवादी सक्रिय भए : भट्टराई

लुम्बिनी- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले ठूला भनिएका दलहरूकै कारण मुलुकमा यथास्थिति र पुरुत्थानवादी शक्तिहरू सलबलाउन थालेको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगरले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य भट्टराईले अब ठूला भनिएका दलहरूले आफूलाई सुधार गर्नुपर्ने बताए।

उनले सत्तासीन दलहरुको असफलता र अकर्मण्यताका कारण पुनरुत्थानवादी शक्तिहरूले असन्तुष्टहरुबाट शक्ति सञ्चय गर्न कोसिस गरेको बताए। उनले अब दलहरुबीच ऐजेन्डाका आधारमा गठबन्धन गर्ने र सरकारमा जाने संस्कृति विकास गर्नुपर्ने बताए। मुद्दामा भन्दा पनि स्वार्थमा गठबन्धन र सहकार्य गर्ने परिपाटीले जनतामा निराशा छाएको उनको भनाइ छ।

केन्द्रीय सदस्य भट्टराईले मुलुकमा देखा परेको राजनीतिक संकटबाट अगाडि बढ्नका लागि अब सुशासन र रोजगारी नै प्रमुख ऐजेन्डा हुनुपर्ने बताए। भट्टराईले नेकपा एकीकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुद्दा स्थापित गर्ने गरी आन्दोलनको तयारीमा रहेको समेत जानकारी दिए।

उनले सुशासन र रोजगारीका लागि सम्पूर्ण शक्तिहरुलाई एकिकृत गरी राष्ट्रिय सम्मेलनमार्फत आफूहरुले आन्दोलनको नेतृत्व गर्ने बताए। ‘हामी आन्दोलनको चरणमा छौं, हामी सबै क्षेत्रबाट सुझाव लिएर सुशासन र रोजगारीका विषयमा सबैलाई एकजुट बनाएर जाने तयारीमा छौँ’, उनले भने।

पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार हुने जानकारी गराइएको थियो। अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष चीनबहादुर गुरुङले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०८२ १४:४२ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast