गृहमन्त्रीलाई लिङ्देनको प्रश्न – भाटभटेनी लुटपाटमा पक्राउ परेका सहमहामन्त्रीको छोरालाई किन छोड्नुभयो?

हिमाल प्रेस १२ वैशाख २०८२ १८:१९ | Friday, April 25, 2025
गृहमन्त्रीलाई लिङ्देनको प्रश्न – भाटभटेनी लुटपाटमा पक्राउ परेका सहमहामन्त्रीको छोरालाई किन छोड्नुभयो? राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्ति परे पनि कारबाही नगरी छोडिएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरू पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको उनले आरोप लगाए।

‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईँकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको थियो,’ लिङ्देनले गृहमन्त्री रमेश लेखकसँग प्रश्न गरे,‘किन छोड्नु भएको? तपाईँको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न कपडा काम लाग्छ भनेर कपडा लिएर गयो। नेताको छोरालाई छोर्नुभयो। उसले ल्याएको मान्छे छुटेन। पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएपछि दुई घण्टापछि छोड्नुभयो।’

लिङ्देनले भने भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीको छोरो पक्राउ परेको भने पनि नाम भने खुलाएनन्।

उनले चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिन गर्न सरकारलाई ध्यानाकर्षण गराए। लिङ्देनले यो घटनामा एकपक्षीय रूपमा टिकाटिप्पणी हुने गरेको भन्दै न्यायिक छानबिन हुनुपर्ने बताए।

तीनकुने घटनाका क्रममा प्रदर्शनकारीभन्दा पनि सरकारपक्षबाट दमन भएको उनको भनाइ छ। अध्यक्ष लिङ्देनले प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको उल्लेख गरे।

उनले राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको भन्दै आपत्ति जनाए। अहिले राजनीतिक दल र सरकारले लोकतन्त्रविरोधी काम गरिरहेको उनको आरोप छ।

प्रकाशित: १२ वैशाख २०८२ १८:१९ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast