आईसीसी यू–१९ विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

हिमाल प्रेस ३ वैशाख २०८२ १५:३७ | Wednesday, April 16, 2025
आईसीसी यू–१९ विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित तस्बिर : क्यान

काठमाडौँ– आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले तेस्रो जित निकालेको छ। बुधबारको खेलमा नेपालले हङकङलाई नौ विकेटले हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो।

हङकङले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य नेपालले १२ दशमलव तीन ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट पनि अविजित रहँदै ३९ रन जोडे। नेपालका लागि नीरज यादवले २३ रनको योगदान दिए। नेपालले अतिरिक्त नौ रन प्राप्त गरेको छ।

हङकङका लागि शयन पुरीले एक विकेट हात पारे। तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६ दशमलव दुई ओभरमा अलआउट हुँदै एक सय १५ रन बनाएको हो।

हङकङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले। उनले एक सय १६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन्। यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रनको योगदान दिँदा अन्य कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपालका लागि युवराज खत्रीले सर्वाधिक चार विकेट लिए। विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट हात पारेका हुन्।

प्रकाशित: ३ वैशाख २०८२ १५:३७ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast