
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र नरहेको बताएका छन्। पार्टीको सोमबार बसेको बैठकमा उनले भने, ‘गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौँ।’
गणतन्त्रमा पनि सुधार आवश्यक रहको औँल्याउँदै लामिछानेले भने, ‘यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ।’
उनले हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामका लागि र यसलाई पास गराउन आफूहरूले नेतृत्व लिने बताए। उनले भने, ‘यो सबैको लागि संगठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान सबैलाई तयार रहनुहोला।’
पहिलो महाधिवेशन वैशाखमै
सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताएका छन्। बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात् वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेस गर्न उनले निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट सुरु गर्ने निर्णय गरेको छ। पार्टीका तर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्री सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्कीसहितको ‘मिसन ब्लुप्रिन्ट’ कार्यदल गठन गरिएको छ।
लिडरसिप एकेडेमी र उम्मेद्वार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्री सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ। पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ।
बैठकले गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्णकुमारी अधिकारीलाई मनोनयनसमेत गरेको छ।
करिब साढे पाँच महिनापछि सभापतिको जिम्मेवारीमा फर्किएका लामिछानेले वर्तमान राजनीतिक परिस्थितिमा अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको बताए। संगठनमा फेरबदल र पुनःसंरचनाका लागि तयार रहन सभापति लामिछानेले पार्टी सदस्यलाई आह्वान गरेका छन्।