
काठमाडौँ- काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न १११ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
उनका अनुसार शुक्रबार १०५ जनालाई पक्राउ गरिएको थियो भने आज थप ६ जना पक्राउ परेका हुन्।
प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले ९, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले ३, प्रहरी वृत्त बालाजुले १, प्रहरी वृत्त सिंहदरबारले २ जनालाई पक्राउ गरेको उनले जानकारी दिए।
उक्त घटनामा २ जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएको बताए। तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौँ प्रहरीले जनाएको छ।
तोडफोड, आगजनी र लुटपाट
प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ। विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ ।
‘प्रहरीतर्फ ६, सरकारी कार्यालयको ७, विवरण नखुलेको ६ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित ६ वटामा तोडफोड भएको छ। केही गाडी जलाइएको छ’, उनले भने।