
काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ। नेपालको संविधानको धारा ९१ (३) को उपधारा – ६ बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
‘सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ,’ प्रवक्ता गिरीले जानकारी दिए। राजावादीले गरेको प्रदर्शनमा आगजनी, तोडफोड र लुटपाट भएको र त्यसमा संलग्न भएको आरोपमा उनी पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई पत्र लेखेर दिइएको हो।
उनी फौजदारी अभियोगमा पक्राउ परेको जानकारी प्रहरीले सभामुखलाई गराएको छ। संविधानले गरेको व्यवस्थाअनुसार प्रहरीले जानकारी गराएको गिरीले बताए । ‘संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिनेछैन,’ संविधानमा उल्लेख छ, ‘तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिनेछैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ ।’
संविधानको सोही व्यवस्थाअनुसार नै शुक्रबार साँझ पक्राउ परेका जबराबारे शनिबार नै सभामुखलाई जानकारी दिइएको हो।