
काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज (बिहीबार) भएको छलफलमा जिल्लाका दुई नगरपालिका र ११ वटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा, डा. राजेन्द्रप्रसाद मिश्र लगायत सहभागी थिए।
छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सबैको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गरेको बताए। कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने भएकाले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने उनले बताए।