
इटहरी- इटहरी चोकस्थित सेन्टर प्लाजामा लागेको आगो करिब साढे ५ घण्टापछि निभाइएको छ। बुधबार बिहान साढे ९ बजेतिर लागेको आगो दिउँसो ३ बजेतिर निभाइएको हो। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले भने, ‘अब लगभग आगो नियन्त्रणमा आएको छ। घाइतेको विवरण तत्काल आइसकेको छैन, हामी घटनास्थलमै छौँ।’
व्यवसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा सिनेमा हल सञ्चालनमा थियो। यसैगरी लक्ष्मी सनराइज बैंक, ठूला इलेक्ट्रोनिक्स पसल, मोबाइल पसललगायत सञ्चालनमा छन्।
आगो निभाउन कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्तासमेत रहेका एसएसपी भीमबहादुर दाहाल र जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन कुमार तिम्सिनाको नेतृत्वमा ७० जना प्रहरी खटिएका थिए।
यसैगरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनीष थापाको कमान्डमा १०५ जना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको कमान्डमा ७५ जना, नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभशमशेर जबरा नेतृत्वमा ५० जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबीबाट प्रहरी निरीक्षक गजेन्द्र कटवाल नेतृत्वमा ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।
आगो निभाउनका लागि विभिन्न पालिकाका १२ वटा दमकल परिचालन गरिएको थियो। आगलागीको कारण खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार प्लाजाबाट ११ जनाको उद्धार गरिएको छ। तिम्सिनाले भने, ‘सेनाको हेलिकोप्टरसहित विपद् सुरक्षा समितिले ११ जनाको उद्धार गरेको छ।’ उद्धार गरिएकामा ३ महिला र ८ पुरुष छन्। ११ जनाको उद्धार गरिए पनि दुई जनाको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यी हुन् आगलागीमा उद्धार गरिएकाहरू
मेरिका राई (२३ वर्ष) : भोजपुर, आमचोक
लक्ष्मी श्रेष्ठ (२६ वर्ष) : कैलाली
विजय धामी (२६ वर्ष) :– सुनसरी, वराहक्षेत्र
विष्णु तामाङ : काभ्रे (उमेर खुल्न बाँकी)
एमडी जय : बंगलादेश (उमेर खुल्न बाँकी)
सञ्जय जैसवाल : धनुषा, कमला ९
दिया राय : मोरङ, विराटनगर-१५
विशाल सिंह : दिया रायका श्रीमान्
आशिष चौधरी : सुनसरी, रामधुनी-७