
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलगायतले अवरुद्ध गरेपछि बुधबार बिहान बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक आधा घण्टाका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन्।
यसअघि बैठकमा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा संसद् चल्न नदिने बताएका थिए। बस्नेतले सम्बोधन गरेपछि माओवादी, रास्वपा, राप्रपालगायतका सांसदहरू आसनबाट उठेका थिए।
सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सांसदहरूलाई बस्न आग्रह गर्दा पनि विपक्षी दलले अवरुद्ध गरिरहेपछि स्थगित गरिएको हो।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले केही दिनअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा मात्रै छलफल भएको र कुलमान घिसिङबारे छलफल नभएको जानकारी गराएका थिए।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। घिसिङको बर्खास्तलाई लिएर प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतले चर्को विरोध गरेका छन्। यसैगरी सत्ताधारी कांग्रेसका नेताहरूले पनि असन्तुष्टि जनाएका छन्।