नेपालमा हुने अन्तर्राष्ट्रिय फेस्टिभलमा घरेलु फिचर फिल्म पाउनै गाह्रो छ : केपी पाठक [अन्तर्वार्ता]

सुस्मिता बजगाईं १२ चैत २०८१ २१:४७
112
SHARES
नेपालमा हुने अन्तर्राष्ट्रिय फेस्टिभलमा घरेलु फिचर फिल्म पाउनै गाह्रो छ : केपी पाठक [अन्तर्वार्ता]

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को आठौँ संस्करण सम्पन्न भएको छ। यसपटक छोटो, फिचर र डकुमेन्ट्री (वृत्तचित्र) गरी ४० देशका ८७ फिल्म प्रदर्शन भएका थिए। नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा बहस र छलफल फेस्टिभलको अर्को सुन्दर पक्ष थियो। निफको विगत, यसमा भइरहेका परिवर्तन, उपलब्धि र भोग्नुपरेका समस्याका विषयमा निफका अध्यक्ष केपी पाठकसँग सुस्मिता बजगाईंले गरेको कुराकानी :

निफको आठौँ संस्करण सम्पन्न भएको छ। कस्तो अनुभव भइरहेको छ?

निफका प्रत्येक संस्करणमा नयाँनयाँ अनुभव हासिल हुँदै आएको छ। हामीले केही चिनेका निर्मातामार्फत करिब २० वटा फिल्म खोजेर फेस्टिभल थालनी गरेका थियौँ। अहिलेसम्म आइपुग्दा ‘ग्लोबल सबमिसन ओपन’ मार्फत प्रवेश शुल्क बुझाएर थुप्रै फिल्म आउन थालेका छन्।

यस बीचमा हामी इन्टरनेसनल फिल्म सोसाइटी, बेलटाइनको फेस्टिभल, अलाइन्सलगायत थुप्रै संघसंस्थाको सदस्य बनेका छौँ। निफका माध्यमबाट नेपाल करिब ९० देशमा पुग्न सफल भएको छ। हामी विभिन्न देशमा नेपालको फिल्मदूत वा ‘गुडविल एम्बासडर’ का रूपमा पुगेका छौँ। नेपाल चिनाउन निफ एउटा ठूलो माध्यम बन्यो। एकपछि अर्को संस्करण सकिँदै जाँदा केही उपलब्धि केही अभाव भोग्दै आएका छौँ।

निफबाट अहिलेसम्म प्राप्त उपलब्धि केके हुन्?

निफका माध्यमबाट नेपाललाई विश्वमा चिनाउनु प्रमुख उपलब्धि हो। अर्को, हरेक संस्करणमा सहभागी हुने करिब १०० निर्मातामध्येबाट यहाँ फिल्म छायांकन गर्न आइरहेका छन्। केही मानिसले रोजगारी पाएका छन्। फिल्मका माध्यमबाट पर्यटन प्रवर्धन  भइरहेको छ। विदेशी पर्यटक भ्रमणमा आइरहेका छन्। फेस्टिभल सानो भए पनि यसले नेपालको अर्थतन्त्रमा सहयोग भएकै छ।

फेस्टिभलका माध्यमबाट नेपाली फिल्म निर्माताले विदेशी निर्मातासँग सम्पर्क बढाएर सहकार्य गर्ने अवसर पाएका छन्। निर्माताहरूको सम्पर्क सञ्जाल बढेको छ। दर्शक बढिरहेका छन्। छलफलमा प्रत्यक्ष सहभागी हुन नसकेका दर्शकले सामाजिक सञ्जालबाट गरिएको लाइभले सहयोग गरिरहेको छ।

निफले धेरै फिल्म ल्याउने र संसारका धेरै देशका सदस्यसँग सम्बन्ध बनाएको छ। हामीले निफको थालनी पोखरा उद्योग वाणिज्य संघको हलबाट गरेका थियौँ। पहिलो फेस्टिभल सम्मेलनजस्तो थियो। अहिले हामी मल्टिभेन्यु अर्थात् फिल्मकै लागि बनाइएको अत्याधुनिक हल क्यूएफएफएक्स सिनेमाजमा फिल्म देखाउन सक्ने अवस्थामा पुगेका छौँ। निर्माताले जति राम्रो साउन्ड र गुणस्तरीय भिडियो ल्याउँछन् सोही स्तरको हलमा फिल्म देखाउन थालिएको छ।

नेपाली दर्शकले पाँच दिनमा एउटै स्थलबाट भर्चुअल माध्यमबाट ५० देश भ्रमण गर्न सक्ने वातावरण बनेको छ। निफमा देखाइने फिल्म, छलफल कार्यक्रम र अवार्ड समारोहमा दर्शकको विश्वास दिलाउन सफल भएका छौँ।

हामीले पहिलेदेखि नै ठूला विदेशी फिल्म निर्माता ल्याइरहेका छौँ। वक्तामा रूपमा प्रकाश झा, अनुराग कश्यप, मनीषा कोइराला, प्रधानमन्त्री केपी ओलीलगायतमार्फत फिल्म क्षेत्रको नीतिमा बहस गरेका छौँ। समग्रमा नेपालमा आयोजना हुँदै आएको एउटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई दक्षिण एसियामै ‘नोटिस’ मा पर्न सफल भएका छौँ।

हामीलाई विदेशी फिल्म उपलब्ध गराउन समस्या छैन। पहिले निर्णायाक ल्याउन कठिन थियो। अहिले फेस्टिभल चलिरहँदा फिल्मको मनोनयन कहिले खुल्छ भनेर सोध्न थाल्छन्। अर्को वर्ष निर्णायकमा राख्नुस् भन्दै इमेल पठाउन थाल्छन्।

आठौँ संस्करण त सकियो। निफको संरचनामा केकस्ता परिवर्तन भयो?

फेस्टिभल हामीले अन्तर्राष्ट्रिय संरचनामा आयोजना गरिरहेका छौँ। पहिले थोरै फिल्म, एउटा सानो भेन्युमा छलफल गथ्र्यौँ। अहिले विस्तार भएको छ। विगतदेखि परिमार्जन गर्दै यहाँसम्म आइपुगेका हौँ।
निफको प्लेटर्फममा देशका शीर्षस्थ व्यक्तित्व, नेतृत्व र सेलिब्रेटीदेखि सबै तह र तप्काका व्यक्तिहरू जोडिन आइपुग्नुभएको छ। छलफलको सत्र सामाजिक सञ्जालबाट प्रत्यक्ष देखाउन पाएका छौँ।

हरेक वर्ष के–कस्तो विषयमा छलफल गर्ने भनेर तयारी गर्छौँ। गत वर्ष हामीले वर्कसपमा पनि फोकस गर्‍यौँ। ६ वटा हलमा फिल्म देखाएका थियौँ। फिल्म पनि ९७ वटा थियो। यस वर्ष फिल्म र हल दुवै घटायौँ। यसपटक बहस र छलफलका विषयमा बढी जोड दियौँ। सिर्जनात्मक र व्यावसायिक विषयवस्तुका हिसाबले विगतका कमीकमजोरी सुधार्दै आइरहेका छौँ।

समस्यासँगै चुनौती पनि त होेलान् नि?

तीन वर्षयतादेखि हामीले फेस्टिभलमै देखाइने फिल्म भए पनि व्यावसायिक हलमै देखाउनुपर्छ भनेर क्यूएफएक्स सिनेमाजमा देखाइरहेका छौँ। पर्यटन बोर्डमा छलफल कार्यक्रम गर्दै आएका छौँ। नेपालमा सभागृह र पर्यटन बोर्डको हलमा पनि फिल्म देखाउन सकिन्छ भन्ने सोचाइ छ।

यस सम्बन्धमा दर्शक र शुभचिन्तकलाई बुझाउन गाह्रो हुँदो रहेछ। उहाँहरू पर्यटन बोर्ड र सभागृह नजिक छ, भेटघाट गर्न सहज हुन्छ भन्नुहुन्छ। फिल्म त थिएटरमै देखाउनुपर्छ। हामीले यही संस्कृति विकास गर्न खोजिरहेका छौँ। फिल्मको साउन्ड र भिडियोको क्वालिटीअनुसार दर्शकले व्यावसायिक हलमा बसेर हेर्न पाउनुपर्छ भन्नेमा हामी सजग छौँ।

संसारभर निफको विश्वसनीयता बढिरहेको छ। देशभित्र फिल्म निर्माता बढेका छन् तर हाम्रो सरकारी निकायले विश्वास गर्न सकेको छैन। बर्सेनि खर्च, महँगी र फेस्टिभलको आयाम बढेको छ तर सहकार्य टुट्दै गएको छ।

फेस्टिभल स्वःस्फूर्त रुपमा देशको आय वृद्धि गर्ने उत्सव हो। यसले देशको प्रचार गरिरहेको छ। अप्रत्यक्ष रुपमा देशको आम्दानी बढिरहेको छ। यो कुरा सरकारी निकायले बुझ्न सकेको छैन।

मुख्य समस्या बजेटमा गएर अड्किन्छ। पैसा अभावमै हामीलाई टिम बनाउने गाह्रो हुन्छ। बिना टिम व्यावसायिक काम गर्न सकिँदैन। केही महिनाका लागि तीनचारजना कर्मचारी राख्छौँ। बाँकी सबै स्वेच्छिक गर्नुपर्छ। व्यक्तिगत लगानी, श्रम सबै घाटामै छ। तर पनि हामीले निरन्तरता दिइरहेका छौँ।

सोही कारण व्यवस्थापन अझै राम्रो गर्न सकिरहेका छैनौँ। फेस्टिभलमा देशलाई प्रतिनिधित्व गर्ने मार्केट/स्टल राख्न पाएका छैनौँ। जबसम्म फिल्म फेस्टिभलमा फिल्म मार्केट राख्न सकिन्न तबसम्म व्यापार गर्न सकिन्न। क्रेता र विक्रेता नआएसम्म त्यो फेस्टिभलको विश्वसनीयता हुँदैन।

विदेशी फिल्मको प्रवर्धन गर्ने स्टल, स्टोरी पिचिङ गर्ने लगानीकर्ता र सहकार्य भए फेस्भिटलको स्थिति अर्कै हुन्छ। यसबारेमा विगत ४/५ वर्षदेखि सम्बन्धित ठाउँमा भनिरहेका छौँ तर काम गर्न सकिरहेका छैनौँ। फेस्टिभलको संस्करण बढाउँदैमा उपलब्धि हुँदैन।

बुसान, सांघाईजस्ता सहरमा आयोजना हुने फेस्टिभल त्यहाँको बजारले चलेको हुन्छ। संसारभरमा फिल्म निर्माता नयाँ विषयवस्तु भेटिन्छ कि भनेर आउँछन्। कोही स्टोरी किन्न, कोही वितरकको खोजीमा र कोही फन्डिङ एजेन्सीको खोजीमा आउँछन्। जसले गर्दा विदेशका फेस्टिभलमा हजारौँ फिल्म निर्माता आउँछन्। हाम्रो यहाँ किन्ने र बेच्ने दुवै चिज छैन।

नेपालमा हामीले बोलाएका निर्माता मात्र आउँछन्। हामीसँग बजार हुन्थ्यो भने सयौँ विदेशी निर्माता आफ्नै खर्चमा आउँथे। उनीहरूले खानबस्नका लागि बढी खर्च गर्न सक्थे।

एउटा फेस्टिभल गर्न बजेट कति लाग्छ?

सुरुमा हामी डेढ करोड रुपैयाँजतिको खाका बनाउँछौँ। अन्तिम चरणसम्म आइपुग्दा त्यसबाट खुम्चिँदै आधामा आइपुग्छ। हामीले बजेट जसरी उठ्छ त्यसरी कार्यक्रमको खाका तयार गर्नुपर्छ। खाकाअनुसार बजेट पाउने हो भने ससाना फिल्म बजार राख्न सकिन्थ्यो। कार्यक्रमको गुणस्तर वृद्धि हुन्थ्यो। राम्रा फिल्म निर्माता बोलाउन र विदेशी पाहुना भित्र्याउन सक्छौँ।

हामीले प्रत्येक वर्ष सरकारलाई वार्षिक बजेटमा हाल्दिनुपर्‍यो भनेर पहल गरिरहेका छौँ तर बजेटको प्राथमिकतामा संस्कृति कहिल्यै पर्दैन। यस वर्ष लगभग ५० लाख रुपैयाँ लागत होला। हामीसँग सहकार्यमा जोडिएका कतिपय संघसंस्थालाई पैसा तिर्नुपरेको छैन।

यसरी फेस्टिभल गर्न कहिलेसम्म सम्भव होला?

आर्थिक अभाव, आफ्नो संघर्ष हेर्दा हरेक वर्ष फेस्टिभलको अन्तिम दिन आइपुग्दा अब नगर्ने हो कि भन्ने अवस्थामा पुग्छौँ। केही महिना बितेपछि दुःख भुल्छौँ। आराम हुन थाल्छ। दिमाग शान्त हुँदै गएपछि गत वर्ष पो सहयोग पाइएन यस वर्ष त राम्रो होला भन्ने लाग्छ। अनि सम्भावित सूची तयार पार्छौँ। असार अन्तिमसम्म ‘ग्लोबल्ली सबमिसन ओपन’ गर्छौँ। त्यसपछि फिल्म आउन थाल्छन्। अनि फसिन्छ!

फिल्म निर्माता पैसा तिरेर प्रवेश गर्छन्। पैसा फिर्ता गर्न हामीलाई गाह्रो हुन्छ। फेस्टिभल नगरौँ खाएर भाग्यो भनेर आरोप लाग्ने डर। आफ्नो र देशको प्रतिष्ठा जोगाउन पनि गर या मरको अवस्थामा छौँ।

सुरुमा अवार्ड समारोह पाँचतारे होटलमा गर्ने योजना बन्छ तर अन्तिममा सिभिल मलमै पुग्नुपर्ने बाध्यता छ।

अभावकै बीचमा पनि देशैभर एकै समयमा फेस्टिभल भइरहेको छ। यसमा तपाईँको धारणा के छ?

देशैभर फेस्टिभल हुनु राम्रो कुरा हो। स्थानीय सरकार बनेपछि देशमा धेरै महोत्सव भइरहेका छन्। स्थानीय सरकारको सहयोगले गर्दा विविध विषयमा फेस्टिभल चलिरहेको छ।

कति बजेटमा फेस्टिभल गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यहाँ २/४ लाखमै पनि फिल्म फेस्टिभल हुन्छ। हामीलाई चित्त बुझाउने एउटा आधार त्यो पनि हो। अन्य फेस्टिभलबाट हामीलाई चुनौती छैन। अन्यभन्दा हामी उच्च तहमै छौँ भनेर चित्त बुझाउँदै आएका छौँ।

उपत्यकामा हुने फेस्टिभलमध्ये हाम्रो अहिलेसम्म कूटनीतिक निकाय र अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्बन्ध बनेको छैन। उनीहरूसँग जोडिएपछि उतैको नारा राख्नुपर्ने हुन्छ। हामीले अहिलेसम्म ‘संसारका कथाको उत्सव : आठौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भनिरहेका छौँ। हामी सकेसम्म कसैको नारा बोक्न नपरोस् भन्ने पक्षमा छौँ। अहिलेसम्म कसैको एजेन्डाको उत्सव मनाएका छैनौँ। हामी सधैँभरि यसरी टिक्न सक्दैनौँ होला। हामीलाई सरोकारवालाले अहिलेकै जसरी विश्वास गरिरहने हो भने कि त फेस्टिभल छोड्नुपर्‍यो कि त अरुकै एजेन्डा र विषयवस्तुको उत्सवमा सहभागी हुनुपर्ने दिन आउलाजस्तो लाग्छ।

विदेशीसँग समन्वय गर्न कतिको सहज छ?

हामीलाई विदेशी फिल्म ल्याउन केही समस्या छैन। एउटा अन्तर्राष्ट्रिय वेबसाइट छ अमेरिकाबाट सञ्चालन हुने। हामी त्यस पोर्टलको ‘गोल्ड मेम्बर’ हौँ। हामीले फेस्टिभल घोषणा गरिदिए पुग्छ। त्यही प्लेटर्फममा संसारभरका फिल्म मेकरले त्यहीँ सर्च गर्छन्, त्यहीँबाट पेस गर्छन् र अन्तर्वार्ता गर्छन्।

म निर्देशक समाजको अध्यक्ष हुँदा विभिन्न किसिमका अन्तर्राष्ट्रिय फिल्म निर्मातासँग राम्रो सम्बन्ध थियो। उनीहरूमार्फत पहिलो संस्करणमा फिल्म सिफारिस गर्न लगाएँ। पहिले त इमेलमा लिएका थियौँ। उनीहरूले आआफ्नो नेटवर्कमा हालिदिए। इमेलमार्फत आएका फिल्म लिन्थ्यौँ। पहिलो वर्ष आएका सबै देखायौँ। दोस्रो वर्षदेखि केही छनोट गर्न थाल्यौँ। तेस्रो वर्षदेखि हामी सदस्य बन्यौँ। त्यसपछि फिल्मको दुःख भएन।

हामीलाई नेपाली फिचर फिल्म पाउन गाह्रो छ। जसले फेस्टिभलका लागि भनेर फिल्म बनाउनुहुन्छ उहाँहरू पहिले विभिन्न देशमा लैजानुहुन्छ। घरेलु फेस्टिभललाई एकदुई वर्षपछि विश्वास गर्ने र हामीलाई दिने परम्परा छ। फेस्टिभलका लागि बनाइएका नेपाली फिल्म प्राप्त गर्नु हाम्रा लागि चुनौती हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast