आइएमई ग्रुप र आइएक्सआई ग्रुपले सञ्चालनमा ल्याए काठमाडौँ टेक्निकल स्कुल, श्रममन्त्री भण्डारीबाट उद्घाटन

हिमाल प्रेस १२ चैत २०८१ १६:५७
20
SHARES
आइएमई ग्रुप र आइएक्सआई ग्रुपले सञ्चालनमा ल्याए काठमाडौँ टेक्निकल स्कुल, श्रममन्त्री भण्डारीबाट उद्घाटन

काठमाडौँ- आइएमई ग्रुप र आईएक्सआई ग्रुपले रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन्। मंगलबार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्रांगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले स्कुलको उद्घाटन गरेका हुन्।

काठमाडौँ टेक्निकल स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक र स्वरोजगारमूलक तालिमहरू सञ्चालन गर्नेछ। यस स्कुलको लक्ष्य आगामी एक दशकमा १ लाखभन्दा बढी दक्ष जनशक्ति र प्रोफेशनलहरू उत्पादन गर्ने हो।

आइएमई ग्रुपको २५ वर्षको व्यावसायिक यात्रामा बैंक, वित्तीय क्षेत्र, बीमा, पर्यटन, जलविद्युत, म्यानुफ्याक्चरिङ लगायतका विभिन्न उद्योग र परियोजनाहरू समावेश छन्। आइएमई ग्रुपअन्तर्गत २५ हजारभन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष रोजगारी पाएका छन् र त्यति नै वा बढीलाई स्वरोजगारमा पनि सहयोग गरिएको छ।

आईएक्सआई कर्प वैकल्पिक ऊर्जा, शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गर्दै आएको छ। उद्घाटन समारोहमा मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीको समस्या समाधान गर्न सक्ने बताए। उनले सरकारले प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको जनाउँदै सीप विकासलाई प्राथमिकता दिने निर्णय गरेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँ टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनको क्षेत्रमा अगाडि बढेको बताए। उनले यस स्कुलले हजारौं युवालाई रोजगार र स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्त गर्न यस स्कुलले योगदान गर्ने बताए। उनले स्कुलले नेपाली युवाहरूलाई विश्वस्तरीय तालिम र शिक्षा प्रदान गर्ने लक्ष्य राखेको पनि बताए।

समारोहमा नेपाल सरकार, निजी क्षेत्र र विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रकाशित: १२ चैत २०८१ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast