
पोखरा- पोखरामा लामो समयदेखि विवादको विषय बन्दै आएको कोटीहोमस्थल अन्ततः पोखरा–१७, बिरौटामा तय भएको छ।
मानव सेवा फाउन्डेसनले फेवाताल किनार वाराही घाटमा कोटीहोम गर्न लागेपछि उक्त विषय विवादित बन्दै आएको थियो। अन्ततः पोखरा महानगरपालिका नगरकार्यपालिकाको बैठकले आयोजक फाउन्डेसनलाई उक्त स्थान सारेर बिरौटामा कोटीहोम सन्चालनको अनुमति दिएको हो।
शुक्रबार नि प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले फाउन्डेसन नाममा अनुमतिको पत्र लेख्दै भनेका छन्, ‘पोखरा–१७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गामा ऐतिहासिक श्री गण्डकी शत्कुण्डीय गायत्री कोटीहोम बिराट ज्ञानमहायज्ञ संचालन गर्न यस कार्यालयको अनुमति माग भएकोमा तपसिल बमोजिजम शर्तपालना गर्ने गरी कार्यक्रम संचालन गर्न अनुमति दिइएको छ।’
जसमा उक्त क्षेत्रको वातावरणमा प्रतिकूल प्रभाव नपर्ने कार्यक्रम संचालन गर्नुपर्नेछ, कार्यक्रममा उत्सर्जन भएको फोहोर आयोजकले व्यवस्थापन गर्नेपर्नेछ, स्थानीयवासीले आवतजावत एवं साँधसँधियारबाट गुनासो नआउने व्यवस्था आयोजक स्वयंले मिलाउनुपर्नेछ, सार्वजनिक स्थलमा राखिएका सूचना, पोस्टर तथा ब्यानर कार्यक्रम समाप्तपछि हटाउनुपर्नेछ, रोडक्रस स्वागतद्वार निर्माण गर्न तथा प्रचारका लागि माइकिङ गर्न पाइने छैनलगायत शर्त राखिएको छ।
महानगरले स्वीकृति दिएको उक्त जग्गा करिब २२ रोपनी छ। साथै आसपासको जग्गा गरी करिब एक सय रोपनी क्षेत्रफलमा कोटीहोम संचालन गरिने फाउण्डेसनका मिडिया संयोजक लेखनाथ ढकालले जानकारी दिए।
उनका अनुसार कोटीहोमस्थलको आइतबार महायज्ञका संकल्पकर्ता विजय श्रीकृष्ण मूर्तिलगायतले अवलोकन गर्नुका साथै स्थानीयसँग छलफल गरेका छन्। स्थानीय आमा समूहका प्रतिनिधि, टोल विकास समितिका प्रतिनिधि, स्थानीय संघसस्थाका प्रतिनिधिले कोटीहोम सफल बनाउनका लागि ऐक्यबद्धतासमेत व्यक्त गरेको ढकालले बताए।
आयोजकले आगामी १७ वैशाखदेखि २६ जेठसम्म कोटीहोम गर्दैछ। त्यसअघि १७ चैतदेखि नै प्रारम्भिक कार्यक्रम सुरु हुने जनाइएको छ।
बाराहीघाट क्षेत्रमा २३ फागुनमा कोटिहोम महायज्ञ स्थलको भूमि पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमि पुजन रोक्न खोजेपछि दुवै पक्षबीच झडप भएको थियो।
पछि पोखराका मेयर धनराज आचार्यकाको आह्वानमा २६ फागुनमा कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकाकी उपप्रमुख, वडाध्यक्ष, कार्यपालिकाको सदस्य, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विश्व हिन्दू महासंघका प्रतिनिधि, कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउन्डेसन नेपालका प्रतिनिधि लगायतको उपस्थितिमा बैठक बस्यो।
बैठकले कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो।