
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन्।
शुक्रबार काठमाडौँमा जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरेका हुन्।
उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेकोे बताए।
प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको अवस्था निकै राम्रो नभए पनि राम्रो तर्फ उन्मुख रहेको धारणा राखे। उनले विभिन्न उत्पादनमा आयात कम गरेर स्वदेशमा नै आत्मनिर्भर हुने र निर्यात समेत गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायीत्व भए सहज रुपमा उद्योगहरु सञ्चालन हुनसक्ने बताए। उनले सिमेन्टको विषयमा र लोडसेडिङका विषयमा सरकारले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए।
उनले धेरै राम्रा कानूनहरु निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। नेपाल उद्योग तथा व्यवसायी महासंघको महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ।