
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पूर्वअध्यक्ष कमला तुलाधरले अहिलेको सरकारको इच्छाशक्ति भएर विद्यालय शिक्षा विधेयक संसद्बाट पारित भई तत्काल ऐनको रुपमा आउने बताएकी छन्।
नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सुरु भएको रिले अनशनमा सहभागी हुँदै पूर्वअध्यक्ष तुलाधरले अहिले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला दलको सरकार भएको हुँदा यो सरकारले चाहे तत्काल शिक्षा ऐन आउने बताइन्।
‘दुई ठूला पार्टी मिलेर बनेको शक्तिशाली सरकार छ। अहिले जे गरौं भने पनि सकिन्छ। शिक्षा ऐन ल्याउन नेकपा माओवादी केन्द्रले पनि ठूलो सहयोग गर्ने विश्वास गरेका छौं। शिक्षक, कर्मचारीहरू, गुणस्तरीय शिक्षाको सवालमा सरकारसँग भएका पटकपटक सहमति, सम्झौताहरू कार्यान्वयन गर्न नसकिने गरी शिक्षा विधेयक आएको छैन,’ उनले भनिन्, ‘अब ऐन ल्याउँछौं र शिक्षा क्षेत्रका समस्या समाधानतिर जान्छौं, शिक्षा हाम्रो पहिलो प्राथमिकतामा पर्यो भनेर सरकारले भन्ने वातावरण तयार भयो भने सरकारको प्रशंसा गर्ने दिन आउनेछ।’
तुलाधरले शिक्षक कर्मचारीको सेवासुविधाको लागि मात्रै महासंघले आन्दोलन नगरेको बताउँदै विद्यार्थी, अभिभावक, सार्वजनिक शिक्षामा सुधार ल्याउनका लागि आन्दोलन गरिएको स्पष्ट पारिन्।