लेखक तथा चिन्तक राप्रउ पोखरेलको निधन

हिमाल प्रेस ४ चैत २०८१ २०:५५
192
SHARES
लेखक तथा चिन्तक राप्रउ पोखरेलको निधन

काठमाडौँ- लेखक तथा चिन्तक रामजीप्रसाद उपाध्याय पोखरेल (राप्रउ पोखरेल) को ८२ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ।

१० दिनअघि हिँड्दाहिँड्दै बेहोस भएपछि पोखरेललाई काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका लागि भर्ना गरिएको थियो।

उनलाई सात दिन भेन्टिलेटरमा राखेर उपचार गरेपछि चिकित्सकहरूले शुक्रबारदेखि भेन्टिलेटर मुक्त गराएका थिए। उपचारमा संलग्न चिकित्सकहरूले पोखरेल के कारणले बेहोस भएको पत्ता लाग्न नसकेको बताएका छन्।

पोखरेलसँग लामो समयदेखि निकट रहँदै आएका पत्रकार महेश्वर आचार्यका अनुसार उनी गम्भीर टिप्पणीकारका रूपमा चिनिन्थे।

‘साहित्यिक आलोचना र सांस्कृतिक लेखहरूमा उहाँलाई पढ्न पाइन्छ’, आचार्यले भने, ‘मदनमणि दीक्षितलाई माधवी उपन्यास लेख्न उपाय सुझाउने व्यक्ति रामजीप्रसाद उपाध्याय पनि हुनुहुन्थ्यो।’ यसबारे उपाध्यायले पनि लामो लेख लेखेका छन्।

पञ्चायत सरकारले मदनमणि दीक्षितको सम्पादनमा प्रकाशित भइरहेको समीक्षा साप्ताहिकमा प्रतिबन्ध लगाएपछि निराश भएर बसेका दीक्षितलाई सिर्जनात्मक काममा लाग्न पनि उनै पोखरेलले सल्लाह दिएको आचार्य बताउँछन्।

पोखरेल कुनै पनि कुराको टिप्पणी गर्नुभन्दा अगाडि सम्बद्ध विषयको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पक्षहरू केलाएर प्रस्तुत गर्दथे।

२०१७ सालतिर स्नातक उत्तीर्ण गरेपछि कम्युनिस्ट राजनीतिमा आबद्ध पोखरेल २०३० को दशकमा पार्टी राजनीतिबाट अलग भएका थिए। पोखरेल भन्थे, ‘पार्टी राजनीति साँघुरो लाग्यो। त्यसकारण म त्यसमा अटाउन सकिनँ र मैले पार्टी छाडेँ।’

पोखरेलले आफ्ना दाजु विष्णुप्रसाद पोखरेललाई कम्युनिस्ट पार्टीको सदस्यता दिलाएका थिए। विष्णुप्रसाद पोखरेल लामो समय नेकपा संयक्तुमा आबद्ध छन्। रामजीप्रसाद उपाध्याय आफ्ना दाजु विष्णुप्रसाद पोखरेलको संस्मरण प्रकाशन गर्ने तयारीमा थिए।

आचार्य भन्छन्, ‘पुस्तकको काम पनि भइरहेको थियो। उहाँले पुस्तक देख्न पाउनुभएन।’ त्यसबाहेक आफ्ना लेखहरूको संग्रह पनि प्रकाशन गर्ने तयारीमा थिए। उपाध्यायका तीनवटा पुस्तक प्रकाशित छन्। ती हुन्, सर्वधर्म समभाव, विचार मीमांसा, मन्दोदरीदेखि मार्क्ससम्म।

उपाध्याय काठमाडौँको सिफलमा बस्दै आएका थिए। स्नातक तह उत्तीर्ण गरेपछि जन्मस्थल महोत्तरीको बिजलपुरामा शिक्षकको जागिर खाएका उपाध्यायले गाउँकै दाजु सत्येन्द्रप्यारा श्रेष्ठ (पूर्वगभर्नर) मार्फत राष्ट्र बैंकमा सर्वेक्षकका रूपमा जागिर खाएका थिए। त्यसपछि उनले लोकसेवा आयोग लडेर पर्यटन मन्त्रालयमा अधिकृत भएका थिए।

उपाध्याय नेपाल नागरिक उड्डयन प्राधिकरणको उपसचिव भएर अवकाश भएका थिए। आचार्यले भने, ‘अवकाशपछि उहाँ लेखपढमा आबद्ध हुनुभएको थियो। नेपालका थोरै बौद्धिक व्यक्तित्वमध्ये रामजीप्रसाद उपाध्यायलाई लिन सकिन्छ।’

उपाध्यायका चार छोरी छन्। उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

मार्क्सवाद र पुरेतवादको विमर्श

प्रकाशित: ४ चैत २०८१ २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast