पुस्तक चर्चा

मार्क्सवाद र पुरेतवादको विमर्श

माधवप्रसाद नेपाल २ भदौ २०८० १२:५९
458
SHARES
मार्क्सवाद र पुरेतवादको विमर्श

लेखकका रूपमा राप्रउ पोखरेलका नामले प्रसिद्ध रामजीप्रसाद उपाध्याय पोखरेलको नयाँ पुस्तक ‘मन्दोदरीदेखि मार्क्ससम्म’ प्रकाशित भएको छ। सरकारी सेवामा तीन दशक बिताएका राप्रउ लामो समय राजनीतिमा पनि सक्रिय रहे। उनलाई राजनीतिक कार्यकर्ताका रूपमा भन्दा लेखकका रूपमा चिनिन्छ। ८१ वर्षीय उनी साहित्य, दर्शन र इतिहासबारे लेख्ने गर्छन्। उनका यसअघि प्रकाशित ‘सर्वधर्म समभाव’ र ‘विचार मीमांसा’ पुस्तकले नेपाली समाज, संस्कृति र दर्शनबारे धेरै कुरा बाहिर ल्याएका छन्। विषयवस्तुका दृष्टिले उनको नयाँ पुस्तक पनि तिनैकै निरन्तरता हो। प्रस्तुत आलेख राप्रउको सद्य प्रकाशित ‘मन्दोदरीदेखि मार्क्ससम्म’ मा समावेश विषयवस्तुको परिचयमा आधारित छ।

‘मन्दोदरीदेखि मार्क्ससम्म’ २४ वटा निबन्धको सँगालो हो। यसमा परिशिष्टसमेत छ खण्ड रहेका छन्। जसमा नेपाली समाज, पौरस्त्य संस्कृति, दर्शन र नेपाली साहित्यका आयामबारे विमर्श गरिएको छ। प्रसङ्गवश पश्चिमी चिन्तनका केही सन्दर्भ आएका छन्। यस्तै सामग्रीको सँगालो ‘विचार मीमांसा’ राप्रउले पाठकलाई पस्किसकेका छन्। दोस्रो कृतिमार्फत पनि उनले नेपाली समाज, संस्कृति र साहित्यबारे लुकेका केही तथ्यबारे बुझ्न, तीबारे चिन्तन गर्न र दृष्टिकोण अघि सार्न सहज बनाइदिएका छन्।

विश्वेश्वरप्रसाद कोइराला र मदनमणि दीक्षितबारेका सामग्रीमा उनीहरूको साहित्यिक व्यक्तित्व र कृतित्वका अनेक आयामका बारेमा चर्चा गरिएको छ। ‘हिमालेसियाली समाजका जातजातिको उत्पत्ति’, ‘नयाँ संस्कृतिको निर्माण : छोटो विमर्श’, ‘सत्-असत्’, ‘बाहुनवाद : कसरी बुझ्ने’ जस्ता सामग्रीको अध्ययनबाट नेपाली समाजको उत्पत्ति र संस्कृतिबारे जानकारी हुन्छ। ‘सतीगमन’, ‘सांस्कृतिक समीकरणउपर डा. गुरुङको परिशीलन’, ‘जनकवि लोकनाथ र उनको लोकमञ्जरी’, ‘के छ लोकतन्त्र र आजको समाजवादमा’, ‘देश देशावरमा पस्दा’ जस्ता सामग्री साहित्य र साहित्येतर कृतिको समालोचनमा केन्द्रित छन्। ‘विदुषी मन्दोदरी’, ‘जनमतका प्रवर्तक पृथ्वीनारायण शाह’, ‘स्वप्नदर्शी राजा’ व्यक्तित्वको जीवनचरित्र र तिनको योगदानमा आधारित छन्। मन्दोदरीचाहिँ पौराणिक पात्र हुन्। ‘काका, मलाई क्षमा गर है!’ संस्मरणमा आधारित छ। केही सामग्री नितान्त राजनीतिक विषयमा आधारित भए पनि तिनमा राप्रउको निजी आग्रह पाइँदैन।

खण्ड १ मा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित तीनवटा सामग्री छन्। पहिलो सामग्री हो, ‘विप्र कोइरालाको साहित्यचिन्तन’। कोइरालाबारे नेपाली साहित्यमा धेरै अध्ययन भएका छन्। उनको आख्यानकारितामाथि अनुसन्धान गरेर विद्यावारिधि उपाधि लिएका विद्वान्हरूको सूची लामै छ। तर स्रष्टा कोइरालाबारे जति अध्ययन भएको छ, द्रष्टा अर्थात् समालोचक कोइरालाका बारेमा त्यति अध्ययन भएको पाइँदैन।

लेखक राप्रउका अनुसार कोइरालाका ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ साहित्यिक मूल्य राख्ने कृति हुन् भने ‘विश्वेश्वरप्रसाद कोइराला : राजनीतिक अभिलेख’ र ‘प्रतिनिधि सङ्कलन’ मा समेटिएका केही प्रबन्ध साहित्यको सौन्दर्यशास्त्रसँग सम्बन्धित छन्। ‘साहित्यमा प्रगतिशीलता’, ‘अल्वर्ट कामुको दर्शन’, ‘आधुनिकतावाद : शैली परिवर्तनको आन्दोलन’ जस्ता साहित्य समीक्षामूलक सामग्रीमा कोइरालाले आफ्नो समालोचकीय दृष्टिकोण अभिव्यक्त गरेको राप्रउले उल्लेख गरेका छन्। नेपाली साहित्यमा प्रगतिशीलताको अमर्यादित प्रयोग भइरहेकोमा कोइरालाको असन्तुष्टि छ। आफ्नो नामको दूषित अनुकरण भएकाले त्यसलाई उनले रुचाएका छैनन्। आफूलाई ‘वि.प्र.कोइराला’ भनेर सम्बोधन गरियोस् भन्ने चाहना राखे पनि अनुयायीहरूले उनको त्यो सदिच्छालाई बेवास्ता गरी भारतीयहरूको ‘बीपी’ सम्बोधनलाई निरन्तरता दिएका रहेछन्।

अर्को सामग्री हो, ‘कोइरालाको गीताभाष्य’। कोइरालाले ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास सनातनीको पवित्र ग्रन्थ गीतालाई पृष्ठभूमि बनाएर सिर्जना गरिएका आख्यान ग्रन्थ हुन्। कोइरालाका दुवै उपन्यास युद्धविरोधी हुन्। यस क्रममा लेखक राप्रउले गीताको विषयवस्तु, जर्मनीका तानाशाह हिटलरले सुरु गरेको युद्धको पृष्ठभूमि प्रस्तुत गर्दै उपन्यासमा तिनको सन्दर्भलाई जोडेका छन्।

खण्ड १ को तेस्रो सामग्री ‘जेल जर्नलमा साहित्य चिन्तन’ हो। धेरैले बुझेको कुरा जेल जर्नल टिपोट डायरीको सङ्कलन हो। राजनीतिक कोणबाट ‘जेल जर्नल’को अनेक प्रकारले समीक्षा भएको छ। यसको साहित्यिक पाटोमा थोरै मात्रै अध्ययन भएको राप्रउको बुझाइ छ। राप्रउले लेखेका छन्, ‘…कोइरालाका राजनीतिक-दार्शनिक चिन्तनलाई नजिकबाट अध्ययन गर्न यो डायरी एउटा महत्त्वपूर्ण स्रोत हो तर यसको साहित्यिक महत्त्व पनि कम्ती छैन।’ कोइरालाले ‘जेल जर्नल’ का कतिपय प्रसङ्गमा आफूले पढेका केही चर्चित साहित्यकार र तिनका कृतिको गुणदोष पर्गेल्ने प्रयास गरेका छन्। कोइरालाको ‘जेल जर्नल’मा आएका साहित्य समीक्षालाई विवेचना गर्दा उनमा सौन्दर्यशास्त्रको उज्ज्वल व्यक्तित्व पाइने निष्कर्ष उपाध्यायको छ।

ग्रन्थको खण्ड २ मदनमणि दीक्षित र उनका साहित्यिक कृतिसँग सम्बन्धित छ। ‘दीक्षितको कथासंसार’ मा दीक्षितका तीन कथासङ्ग्रह ‘कसले जित्यो कसले हार्‍यो’, ‘ग्यासच्याम्बरको मृत्यु’ र ‘जेन्डा’मा समावेश ३५ वटा कथाको सङ्क्षिप्त चिनारीमा केन्द्रित छ। राप्रउले दीक्षितका कथालाई संस्मरणात्मक निबन्धरूपी कथा, वर्गीय चरित्र लिएका कथा, मनोविश्लेषणात्मक कथा र राजनीतिक पृष्ठभूमिका कथामा वर्गीकरण गरेका छन्।

दीक्षितका कथाको परिवेश वाराणसी, सुगौलीदेखि पोल्यान्डसम्म विस्तार भएका छन्। उनका कथाका चरित्र मानव र मानवेतर प्राणी छन्। कथामा नारीपात्रलाई विशेष प्रकृतिका साथ प्रस्तुत गरिएको छ। यस्तै दीक्षितका कथाका संवादमा बढी दार्शनिक तत्त्वहरू र जीवनवादी पक्षहरू पाइन्छन्। उनको अभिव्यक्ति शैलीमा प्रकृतिको विचित्रता, सौन्दर्य र जादुमयी लेखनीको एकाकार पाइने पोखरेलको ठम्याइ छ। सामान्य स्तरका पात्रहरू बौद्धिकताको भारीले थिचिनु, भाषाशैली नेपाली पाठकका निम्ति अपरिचित र नौला लाग्नु राप्रउले पहिचान गरेका दीक्षितका कथाका कमजोर पक्ष हुन्।

खण्ड २ को दोस्रो सामग्री ‘माधवी : प्राचीन संस्कृतिको अध्ययन’ हो। नेपाली उपन्यासको उत्कृष्ट कृतिका रूपमा स्वीकार्य ‘माधवी’ लेखनका बोलमा विभिन्न घटनासँग राप्रउ आफू पनि जोडिएका छन्। ‘माधवी’ उपन्यास लेखनका क्रममा दीक्षितले कतिपय लेखक, पत्रकार र पाठकलाई पटकपटक अंशहरू सुनाएका थिए। ती अंश सुन्नेमध्येमा लेखक राप्रउ पनि रहेछन्। उपन्यास अंश कसकसलाई सुनाएको, सुनाउँदा ठाउँठाउँमा दीक्षित बलिन्द्रधारा आँसु खसालेर रुने गरेको सन्दर्भ रोचक छन्।

माधवी लेखनका लागि उपन्यासकार दीक्षितलाई तीन वर्ष लागेको रहेछ। उपन्यासमा प्रयुक्त गरिने भाषाबारे लेखकले विज्ञहरूसँग पटकपटक छलफल गरेका रहेछन्। यस्तै उपन्यासमा उत्तरवैदिक कालीन समाज, संस्कृति र शब्दहरूको प्रयोग गर्नुको कारण पनि यस सामग्रीमा पाइन्छ। ‘माधवी’ उपन्यास लेखनको साक्षी र सल्लाहकारसमेत रहेका राप्रउले उक्त उपन्यासबारे लेखेका छन्, ‘माधवी उपन्यासमा मानिसको आशा, उत्साह, सौन्दर्य, चेतना तथा आनन्दलाई र सँगसँगै तिनको निराशा, क्षोभ, आक्रोश, घृणाजस्ता प्रवृत्तिलाई सुन्दर र लालित्यपूर्ण तथा त्यत्तिकै सरल र स्वाभाविकै ढंगले प्रस्तुत गरिएको छ।’

खण्ड २ को तेस्रो सामग्री ‘गहन कृति : भूमिसूक्त’ हो। यसमा राप्रउले ‘भूमिसूक्त’लाई दुई कोणबाट अध्ययन गरेका छन्। एउटा उपन्यास विधाका रूपमा र अर्को हिमाली उपमहादेशीय समाजको आद्यइतिहासलाई सामाजशास्त्रीय आधारमा। शास्त्रीय विवेचना गर्ने समालोचकले ‘भूमिसूक्त’लाई उपन्यासका रूपमा नलिने तथा समाजवैज्ञानिकले इतिहासको कसीमा हेर्न सक्ने भए पनि दीक्षितको यो प्रयोगधर्मी उपन्यास हो भन्ने ठम्याइ राप्रउको छ।

‘भूमिसूक्त’ र ‘माधवी’ हिन्दू दर्शनअन्तर्गतका प्रकृतिविज्ञान र समाजविज्ञानको पृष्ठभूमिमा लेखिएका सफल उपन्यास हुन्। राप्रउका अनुसार ‘माधवी’ र ‘भूमिसूक्त’को रचनाधर्मिता एउटै छ। वैचारिक धार समान छ। दुवैको कथासंसार, स्थान र काल फरक भए पनि तिनको प्रवृत्तिमा क्रमिक निरन्तरता पाइन्छ। दुवै उपन्यासमा असमानताको दूरी पनि त्यत्तिकै फराकिलो छ।

वैदिक साहित्यको आधुनिक पद्धतिअनुृरूप अध्ययन र चिन्तनको न्यूनता छ। यस्तो अवस्थामा दीक्षितले हिन्दू समाजको प्राचीन साहित्यको अनुशीलन गरेर उपन्यासका माध्यमबाट समाजशास्त्रीय विश्लेषण प्रस्तुत गरेर आफूलाई पहिलो नक्षत्रका रूपमा स्थापित गर्न सफल छन्। दीक्षितको दुवै उपन्यास लेखनको आधारभूमि वेद, ब्राह्मणग्रन्थ, उपनिषद्, महाभारत, रामायण, पुराण आदि हुन्। उनका उपन्यासमा तत्कालीन समाजको संस्कृति र सभ्यताको इतिहासलाई नजिकमा राखेर नारीको चरित्रगत धारणा, तिनको पारिवारिक र सामाजिक सम्बन्धको व्याख्या गरिएको हुन्छ।

समालोचक राप्रउ उपन्यासका विषयवस्तु, विश्लेषण र चिन्तन पक्षको खोजीका क्रममा उपन्यासमा मात्र सीमित भएका छैनन्। दीक्षितले उपजीव्य बनाएका ती ग्रन्थका मूलसम्म पुगेर उपन्यासको गुणदोष पहिचान गर्छन्। यसबाट कतिपय सन्दर्भमा दीक्षित चुकेको निष्कर्ष निकालेर राप्रउले आफ्नो अध्ययनशील व्यक्तित्वको परिचय दिएका छन्।

‘हाम्रा प्राचीन नारी : सङ्क्षिप्त विवेचना’ खण्ड २ को अर्को सामग्री हो। यो पनि मदनमणि दीक्षितको ‘हाम्रा प्राचीन नारी’ कृतिमाथि आधारित छ। यसमा सत्य, त्रेता, द्वापर युगका ५१ वटी नारीको चरित्र, पारिवारिक सम्बन्ध र सामाजिक स्थितिको विश्लेषण गरिएको छ। वैदिक संहिताका नारीहरू शची, सूर्या, मैत्रेयी, गार्गी, देवहुती, अरुन्धती, आत्रेयी, अनसूयाहरू ब्रह्मवादिनी नारीका रूपमा चित्रित छन्। ती नारीको दार्शनिक परम्परा अन्य समृद्धि संस्कृति रहेका चिनियाँ, ग्रिसेली, मिश्रेली वा रोमन समाजमा यस्तो परम्परा नपाइने राप्रउको निष्कर्ष छ। अनि लेखक दीक्षितको ‘नारी धर्मपालनामा ती नारीहरू पुरुषभन्दा सुदृढ छन्।

यसरी हेर्दा यो विशाल भूभागमा नारीको इतिहास आधारभूत तवरमा निरन्तरतायुक्त छ। तिनले आफूलाई, आफ्नो समाजको संस्कृतिलाई, आधुनिक युगका आवश्यकतालाई स्वीकार गरी बलशाली, सन्देशवाही र प्राणवन्त राख्नेमा निर्णायक भूमिका निर्वाह गर्दै आएका छन्’ भन्ने भनाइमा राप्रउ पूर्णत: सहमत देखिन्छन्। पुस्तकमा रहेका त्रुटि पहिल्याउन पोखरेलले मूल ग्रन्थहरूमा पुगेर गरेको विचरण लोभलाग्दो छ।

ग्रन्थको खण्ड ३ मा सातवटा सामग्री छन्। ‘हिमालेसियाली समाजका जातजातिको उत्पत्ति’ मा हिन्दू समाजमा वैदिक साहित्य, स्मृतिग्रन्थ, महाभारत, मनुस्मृति, धर्मसूत्र, पुराणमा पाइने वर्ण व्यवस्थामाथि विश्लेषण गरिएको छ। वैदिक युगमा चारै वर्णको महत्त्व र आवश्यकता उत्तिकै रहेको र आरण्यक ग्रन्थहरू सिर्जना हुँदासम्म देवताहरू पनि वर्णमा विभाजित भइसकेका थिए। जातिसूचक नामहरूको सूची लामै रहेको, तिनको व्युत्पत्ति कर्म र शिल्पसँग जोडिएको थियो। उनका अनुसार मनुस्मृति, याज्ञवक्यस्मृति, गौतमस्मृति, नारदस्मृति आदि स्मृतिग्रन्थमा जातिसूचक नाम एक सयभन्दा बढी छन्।

धर्मशास्त्रका सन्दर्भलाई उधृत गर्दै उपाध्यायले जातिहरूको उत्पत्ति कर्मअनुसार र वर्ण मिश्रणबाट भएको निष्कर्ष दिएका छन्। हिन्दू समाजमा मात्रै होइन, वर्ण र जातजातिमा आधारित व्यवस्था प्राचीन रोम, फारस र अफ्रिकामा पनि थियो। मुसलमान र इसाई समाजमा पनि जातीय विभाजन पाइन्छ। हिन्दूबाहेक अन्य धर्मशास्त्रमा जाति विभाजनको कुरालाई संहिताकरण नगरिएकाले त्यति धेरै चर्चा हुँदैन। हिन्दू समाजमा हिजो जुन परिस्थितिले जातजातिको उत्पत्ति भयो र छुवाछुतलाई व्यवहारमा ल्याइयो, अब त्यो परिस्थिति कायम नरहेको र जातीय विभेद बिस्तारै असान्दर्भिक बन्दै गएको ठहर लेखकको छ।

‘विदुषी मन्दोदरी’ रामायणकी एउटी नायिका मन्दोदरीमा आधारित छ। नायिका भईकन पनि काव्यकारहरूले महत्त्व नदिएकाले मन्दोदरीबारे धेरैलाई कम जानकारी छ। राप्रउका अनुसार सीता, द्रौपदी, कुन्तीजस्तै मन्दोदरी पनि उदात्त नारी हुन्। मन्दोदरीले जीवनमा वेदना सहेर आफूलाई सम्हाल्न सफल भइन् भन्ने उदाहरण जोकसैका लागि पनि  प्रेरणादायी छ। यस क्रममा राप्रउले रामायणको रचनाकाल, महाभारतमा परेको रामायणको प्रभाव विषयमा पनि गहन अध्ययन गरेका छन्।

‘सतीगमन प्रथा होइन’ यो खण्डको अर्को सामग्री सुजित मैनालीको ‘सती : इतिहास र मीमांसा’ ग्रन्थको समीक्षा हो। मैनालीको ‘पतिको मृत्युपछि विधवा स्त्रीको यौनजीवनलाई नियन्त्रण गर्न सतीप्रथा पुरुष वर्गले चलाएको क्रूर अस्त्र हो’ भन्ने निष्कर्षमा राप्रउको विमति छ। सतीगमनलाई पौराणिक काल र त्यसपछि पनि इतिहासको कुनै चरणमा कुनै संस्थाले व्यवस्थित नगरेकाले यसलाई प्रथा भन्नु उचित हुँदैन भनेर पोखरेलले सतीगमनबारे पौराणिक कालदेखि राणाकालसम्मका सन्दर्भलाई सप्रमाण प्रस्तुत गरेका छन्। राप्रउले लेखक मैनालीका तथ्यगत त्रुटिमात्रै औँल्याइदिएका छैनन्, तिनलाई सच्याउने आधार पनि खोतलिदिएका छन्। स्त्रीतत्त्व र स्त्रीमनलाई मनोवैज्ञानिक आधारमा नकेलाइएका कारण मैनालीको पुस्तकले एकपक्षीय विवेचनालाई ठाउँ दिएको निर्क्योल  राप्रउको छ।

यसै खण्डको अर्को सामग्री हो ‘नयाँ संस्कृतिको निर्माण : छोटो विमर्श’। यो संस्कृतिको ऐतिहासिक पक्षलाई खोतलेर नयाँ संस्कृति कसरी निर्माण हुन्छ भन्ने विषयको बहसमा आधारित छ। संस्कृति भनेको लोकजीवनको संस्कारित रूप हो। एउटा निश्चित समाजको संस्कृति त्यहाँको भूगोल, उत्पादन पद्धतिजस्ता पक्षहरूसँग सम्बन्धित हुन्छ। राप्रउले मध्ययुगीन धर्मसंस्कृतिको जरो कृषि सभ्यताको क्रमिक परिमार्जनसँगै नयाँ संस्कृति प्रतिष्ठापित हुँदै जाने कार्यलाई नयाँ संस्कृतिको निर्माण भनेका छन्।

‘राष्ट्रिय समीकरणउपर डा. गुरुङको परिशीलन’ धर्मसंस्कृतिका अध्येता जगमान गुरुङको बौद्धिक व्यक्तित्वका बारेमा लेखिएको सामग्री हो। राप्रउले यसमा गुरुङको ‘नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रस्रवण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन’ नामक अनुसन्धानमूलक ग्रन्थलाई आधार बनाएका छन्।

राष्ट्रिय एकताको भावनालाई मियो बनाएर प्रस्तुत गरेको उक्त कृतिमार्फत डा. गुरुङले नेपाल राष्ट्रको अखण्डतालाई अक्षुण्ण राख्न यहाँको सांस्कृतिक-धार्मिक परम्पराले देखाएको समन्वयको बाटोलाई सबै नेपालीमा खुलस्त पारिदिएको निचोड राप्रउको छ। उनका अनुसार यस कृतिमार्फत संस्कृतिको समन्वयात्मक प्रकृतिलाई राष्ट्रिय एकता र अखण्डताको भावनासित जोड्ने सत्प्रयास भएको छ।

‘सत् असत्’ खण्ड ३ को वेदान्त दर्शनमा आधारित सामग्री हो। यसमा लेखक राप्रउले बृहदारण्यकोपनिषद्‌मा रहेको ‘असतो मा सद् गमय…’ को व्याख्या गरेका छन्। वेदान्त दर्शनले अन्तिम सत्य केही होइन भनेर मानिसलाई उच्चातिउच्च ज्ञान प्राप्तिका निमित्त अघि बढ्न प्रेरित गरेको छ। यसको प्रयोग सृष्टिको मूलतत्त्व ब्रह्म प्रतिपादनका लागि गरिएको हो। आदिशङ्कारचार्यका अनुसार जगत्को मूल कारण ब्रह्म हो, जसलाई जान्न सकिन्न, त्यो अजर, अनन्त र अज्ञेय छ। त्यसैले वेदान्त दर्शनलाई आध्यात्मिक चिन्तनको सर्वोच्चता मानिन्छ। राप्रउले प्रस्तुत अध्ययनमा वेदान्त दर्शनले प्रतिपादन गरेका मुख्य विषयलाई आधुनिक द्वन्द्ववादसँग तुलना गरेका छन्। मार्क्स, हेगेल आदिको द्वन्द्ववादी पद्धति भारतीय दर्शनकै समीपमा पाइने निष्कर्ष दिएर राप्रउले वेदान्त दर्शन र मार्क्सवादी दर्शनको साम्यवैषम्य खोतलेका छन्।

खण्ड ३ को अन्तिम सामग्री हो ‘बाहुनवाद : कसरी बुझ्ने?’ नेपाली समाजमा चर्चामा आइरहने शब्द हुन्, बाहुन, ब्रह्म, ब्राह्मण। धेरैको बुझाइ के पाइन्छ भने यी तीनै शब्दले वर्णव्यवस्थामा आधारित एउटा जाति जनाउँछ, जसलाई कर्मका आधारमा पहिलो नामकरण गरिएको छ। हुम्लाको विपन्न गाउँको एउटा बाहुन होस् या सहरी क्षेत्रको सम्भ्रान्त ब्राह्मणलाई हेर्ने एउटै चश्मा छ।

प्रस्तुत निबन्धमा राप्रउले यी तिन शब्दको तात्पर्य खुलाइदिएका छन्। उनका अनुसार ब्राह्मणवादी जातिविशेषमा सीमित छैन। कुनै समाजमा रहेका बौद्धिक, राजनीतिक, उद्यमी र व्यवसायी वर्गले त्यहाँको आर्थिक, सामाजिक एवम् राजनीतिक पद्धतिलाई नेतृत्व गरिरहेको हुन्छ। राप्रउको विश्लेषणमा ब्राह्मणवादी भनेका तिनै सम्भ्रान्त वर्ग हुन्। यहाँ इटालेली नवमार्क्सवादी एन्टोनियो ग्राम्चीको अवधारणाको एउटा सन्दर्भ प्रासङ्गिक हुन्छ। उनले प्रभुता वा शक्तिको प्रयोगका दुईवटा तह (राजनीतिक समाज र नागरिक समाज) का विभिन्न अङ्ग (न्यायालय, सेना, चर्च, शैक्षिक संस्था आदि) को प्रयोग शक्तिशाली सम्भ्रान्त वर्गले गर्छ भनेका छन्। प्रभुताको प्रयोग सीमान्त वर्गले गर्न पाउँदैन, बरु ऊ यस्तो समूहद्वारा शासित हुन्छ भन्ने धारणा ग्राम्चीको छ। राप्रउको ब्राह्मणवाद पनि ग्राम्चीकै धारणासँग निकट रहेको बुझिन्छ।

पुरेतवाद भनेर वर्णाश्रमभित्र पर्ने धार्मिक कर्मकाण्ड गर्ने पुरेतसित मात्रै जोड्ने गरिएको छ। तर हरेक जातिमा पौरोहित्य गराउने कार्य परापूर्वकालदेखि प्रचलनमा रहेको राप्रउले उल्लेख गरेका छन्। उनको निष्कर्ष छ, पुरेतवाद खासमा इसाई र इस्लामको मठवाद हुबहु आयात गरिएको शब्दावली हो। नेपाली समाजको सांस्कृतिक र व्यावहारिक जीवनमा त्यस्तो अस्तित्व छ भन्ने आधार र लक्षण कतै भेटिँदैन।

समाजशास्त्रीय अध्ययनका नाममा कुनै निश्चित जातिको विरोध गर्दै जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक क्षेत्रमा विभाजन खडा गरेर आपसी द्वेष निम्त्याउने गरी वातावरण तयार गरिएकोमा राप्रउको आपत्ति छ। त्यसैले स्पष्ट हुन्छ- मार्क्सवाद र पुरेतवाद दुवै आयातित हुन्।

खण्ड ४ मा चारवटा सामग्री छन्। ‘काका, मलाई क्षमा गर है?’ संस्मरणात्मक निबन्ध हो। यसमा लेखक राप्रउले नातामा काका पर्ने सुप्रसिद्ध भाषाशास्त्री बालकृष्ण पोखरेलसँग भएका केही निकट सन्दर्भलाई लिपिबद्ध गरेका छन्। झर्रोवादी आन्दोलनको नालीबेली तथा भाषाशास्त्री पोखरेलको ‘पाँच सय वर्ष’ र ‘खस जातिको इतिहास’ का विशेषता यसमा पाइने अन्य पठनीय विषय हुन्। यस क्रममा नेपाली भाषाको उत्पत्तिको सन्दर्भ पनि छ।

काका पोखरेलले ‘बृहत् नेपाली-अङ्ग्रेजी-नेपाली कोश’ को समीक्षा गर्न पठाएका रहेछन्। तर राप्रउले आफूमा त्यो पात्रता नभएको बुझेर समीक्षा गरेछन्। सोही आधारमा काका, मलाई क्षमा गर है? भनेर संस्मरणको बिट मारेका छन्।

‘जनकवि लोकनाथ र उनको श्लोकसङ्ग्रह’ राप्रउकै नातामा बाजे पर्ने मध्यकालीन कवि लोकनाथ पोखरेलको काव्यकृति ‘लोकमञ्जरी’ को समीक्षा हो। राप्रउका अनुसार ‘लोकमञ्जरी’ तत्कालीन किरात प्रदेशको सामाजिक जीवनको यथार्थ इतिहास हो।

नेपाली कविताको माध्यमिककाल भनेर शृङ्गारिक कविता लेखनलाई बुझिन्छ। लोकनाथका कवितामा पनि शृङ्गार रसको प्रयोग पाइन्छ। कवितामा गाउँघरको सुवास र मौलिक चरित्रको जनबोलीको भाषा पाइने निष्कर्ष राप्रउको छ। तत्कालीन लोकजीवनलाई राम्ररी समेटेको यो काव्य समाजशास्त्रीहरूका लागि अध्ययनको राम्रो स्रोत हो।

‘के छ लोकतन्त्र र आजको मार्क्सवादमा?’ यो आलेख प्रा. चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको मार्क्सवाद’ पुस्तकको समीक्षा हो। यसमा २०४६ पछिको नेपाली राजनीतिको उपलब्धि र यसमा देखिएका विकृतिहरूको लेखाजोखा गरिएको राप्रउको निष्कर्ष छ।

‘देश देशावर’मा पस्दा जीवा लामिछानेको नियात्रा कृति ‘देश देशावर’ को परिचय हो। यस पुस्तकमा एसिया, अफ्रिका, अमेरिका, युरोपका विभिन्न देशहरूको भूगोल, इतिहास, आर्थिक, राजनीतिक, सामाजिक व्यवस्था र विद्यमान समस्याको चित्रण गरिएको छ। कृतिबाट जातीय द्वन्द्व व्यहोरिसकेका देशहरूका आन्तरिक कारणमा खुट्टा टेकर विदेशी शक्तिले महत्त्वपूर्ण तथ्यलाई नेपालले शिक्षा लिनुपर्ने सन्देश प्राप्त भएको राप्रउले उल्लेख गरेका छन्।

‘जनमतका प्रवर्तक पृथ्वीनारायण शाह’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राजनीतिक योगदानमा आधारित सामग्री हो। यस आलेखमा राप्रउले पृथ्वीनारायण शाहलाई राष्ट्रनायक मान्नुका केही आधार अघि सारेका छन्। उनका अनुसार पृथ्वीनारायण शाहले सामन्ती राज्यको स्थापना गरेका थिएनन्। उनले त ग्रामीण अर्थतन्त्रमा आधारित समाजलाई छरिएर रहेको राज्यको एकीकरणले कृषिमा आधारित व्यावसायिक पुँजीवादको प्रारम्भसँगै औद्योगिक पुँजीवादका लागि पृष्ठभूमि बनाएको राप्रउको ठम्याइ छ। पृथ्वीनारायण शाहले आदम स्मिथको जस्तै पुँजीवादको बीजारोपण गरेको, बाह्य देशसित आर्थिक र वाणिज्य सम्बन्ध स्थापना गाँसेर कूटनीतिक क्षमता देखाएको, देशलाई आत्मनिर्भरको बाटोतर्फ लगेको जस्ता विषयलाई राप्रउले ऐतिहासिक तथ्यका आधारमा पुष्टि गरेका छन्।

राप्रउले पृथ्वीनारायण शाहलाई प्रजातान्त्रिक अभ्यासका आरम्भकर्ता हुन् भनेका छन्। पृथ्वीनारायण शाहको भारदारी सभालाई उन्नाइसौँ शताब्दीको मध्यसम्मको इङ्गल्यान्डको संसद्सरह रहेको राप्रउको बुझाइ छ। पृथ्वीनारायण शाहले खस भाषा लादेको आरोपको खण्डन गर्दै राप्रउ लेख्छन्, ‘त्यस्तो आरोप पूर्णत: असत्य, द्वेषपूर्ण र तत्कालीन इतिहासको अज्ञानताले उब्जाएको हो।’ उनका अनुसार यस्ता दूरदर्शी राजाको सालिक भत्काउनु अनि राष्ट्रिय एकता दिवस नमाउनु राष्ट्रविरोधी कार्य हो।

‘स्वप्नदर्शी राजा’ राजा महेन्द्रको व्यक्तित्वमा आधारित सामग्री हो। यसमा २०११ साल फागुनदेखि २०२८ माघसम्म शासन गरेका राजा महेन्द्रले मुलुकको दीर्घकालीन हितका लागि गरेका महत्त्वपूर्ण कार्यलाई सूचीबद्ध गरिएको छ। राजा महेन्द्रले भौतिक विकासको जग बसालेका छन्। सामाजिक विकासको अभियानलाई फैलाएका छन्। विश्व शीतयुद्धमा रहेका बेला अमेरिका, भारत, चीन र रुससँग समदुरीको कूटनीतिक सम्बन्ध कायम गरेका छन्।

काठमाडौँ-कोदारी राजमार्ग निर्माण, पूर्वपश्चिम राजमार्ग निर्माण, मधेशी र जनजातिलाई संरक्षण, भारतीय मुद्राको विस्थापन, राष्ट्र बैंकको स्थापना, राष्ट्रिय योजना आयोग गठन, संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्ति, निजामती ऐन जारी, नयाँ मुलुकी ऐन, भूमिसुधार ऐन, जग्गामा हदबन्दी, त्रिभुवन विश्वविद्यालय स्थापना, प्रज्ञा प्रतिष्ठान स्थापना, नेपाल वायुसेवा निगम स्थापना, दार्चुलादेखि ओलाङचुङगोलासम्म १८ ठाउँमा २००९ सालदेखि तैनाथ भारतीय सैनिक चेकपोस्ट हटाउने जस्ता कामको जग महेन्द्रबाटै बसेका हुन्। राजा महेन्द्र नेपाललाई सार्वभौमसत्ता सम्पन्न एक स्वाधीन देशका रूपमा विकास गर्न चाहन्थे भन्ने कुरा उनले लागू गरेका कार्यक्रमलाई हर्दा थाहा हुने राप्रउले उल्लेख गरेका छन्। महेन्द्रवादी राष्ट्रियता भनेर आलोचना गर्नेहरूलाई पोखरेलले कटाक्ष गरेका छन्।

परिशिष्टका दुई अन्तर्वार्तामध्ये एउटा सुजित मैनालीले निजी जीवन, अध्ययन, लेखन, नेपालको राजनीति, इतिहास र धर्मसंस्कृतिमा आधारित रहेर राप्रउसँग गरेको कुराकानी हो। अर्कोचाहिँ बीसौँ शताब्दीका दुई प्रखर कूटनीतिज्ञ आन्द्रेई ग्रोमिको र हेनरी किसिन्जरबीचको संवाद हो, जुन अङ्ग्रेजीबाट राप्रउ आफैँले अनुवाद गरेका हुन्। यसबाट राप्रउ अनुवाद कलामा पनि उत्तिकै रुचि राख्ने व्यक्तित्व रहेको पुष्टि हुन्छ। ग्रन्थका सबै निबन्ध उत्तिकै महत्त्वका लाग्छन्। तर पनि ग्रन्थको उचाइ कायमै राख्न भने केही सामग्रीको विशेष भूमिका हुन्छ। त्यस्ता सामग्रीमध्ये ‘दीक्षितको कथासंसार’, ‘विदुषी मन्दोदरी’ र ‘स्वप्नदर्शी राजा’ उम्दा छन्। त्यसो भनेर  मूल्यवत्ताका दृष्टिले अन्य सामग्रीको कम ओजनदार भन्न खोजिएको हैन।

ग्रन्थको शीर्षकमात्रै पढ्ने हो भने रामायणकालीन एक गुमनाम पात्रा मन्दोदरी र बीसौँ शताब्दीका जर्मन दार्शनिक कार्ल मार्क्सको जीवनीमा आधारितजस्तो लाग्न सक्छ। अनि पाठकको मनमा प्रश्न उठ्छ, मन्दोदरीदेखि मार्क्ससम्म केको संयोजन रहेछ? त्यसको उत्तर शीर्षककै पेटबोलीले दिएको छ- समाज, संस्कृति र साहित्यविमर्श। शीर्षक बिकाउ खालको राखिए पनि लेखकीय उचाइ प्राप्त गरिसकेका राप्रउका लागि त्यो आवश्यक थिएन।

‘पूर्वकथन’ राप्रउ आफैँले लेखेको भूमिका हो। ‘राप्रउ पोखरेल : मेरा अभिन्न मित्र’ मा मदनमणि दीक्षितले राप्रउको व्यक्तित्व र उनीसँगको उठबसलाई लिपिबद्ध गरेका छन्। तर यो प्रस्तुत ग्रन्थका लागि लेखिएको नभएर जनजागृति सांस्कृतिक क्लब, महोत्तरीले राप्रउ पोखरेलबारे सामयिक सङ्कलनमा प्रकाशित सामग्री हो। यो सामग्रीले नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व दीक्षितसँग राप्रउको घनिष्ठ सम्बन्ध रहेको पुष्टि हुन्छ।

ग्रन्थको खण्ड तीन र खण्ड चारमा सामग्रीहरूको रखाइ त्यति मिलेको पाइँदैन जति अरू खण्डमा राम्रो संयोजन भएको छ। यस्तै विषयसूचीमा भएका केही शीर्षक र मूलपाठमा भएका शीर्षकबीच एकरूपता छैन। विषयसूचीमा ‘जेल जर्नलमा साहित्यमीमांसा’ छ भने मूलपाठमा ‘जेल जर्नलमा साहित्यचिन्तन’। ‘सतीगमन’- ‘सतीगमन प्रथा होइन’, ‘सांस्कृतिक समीकरणउपर डा. गुरुङको परिशीलन’-‘राष्ट्रिय समीकरणउपर डा. गुरुङको परिशीलन’, ‘जनकवि लोकनाथ र उनको लोकमञ्जरी’-‘जनकवि लोकनाथ र उनको श्लोकसङ्ग्रह’ पाठकलाई अलमल्याउने शीर्षक हुन्।

फरकफरक मितिमा लेखिएका कारण कतैकतै सन्दर्भ दोहोरिएका छन्। ठाउँठाउँमा मुद्राराक्षसले प्रवेश पाएको छ। यसलाई लेखनको भन्दा पनि सम्पादन पक्षको कमजोरीका रूपमा औँल्याउन सकिन्छ।

अनुसन्धानमूलक भईकन पनि अनुसन्धानका प्रचलित मापदण्डमा लेखकको ध्यान गएको छैन। यद्यपि सन्दर्भसामग्री उधृत गरेर लेखकीय इमानदारी प्रस्तुत गरिएको छ। झिनामसिना केही प्राविधिक त्रुटि भए पनि नेपाली समाज, साहित्य र संस्कृति बुझाउने यति स्तरीय ग्रन्थ कमै छन्। त्यसैले यो ग्रन्थको उपादेयता र महत्त्व दीर्घकालसम्म हुने विश्वास गर्न सकिन्छ। ग्रन्थ भुँडीपुराण प्रकाशनले छापेको हो।


प्रतिक्रिया

One thought on “मार्क्सवाद र पुरेतवादको विमर्श

  1. कृतिकाे समीक्षा पढेपछि कृति किनाैँकिनाैँ लाग्याे ! समीक्षा पढ्दा मजा आकाे हाे कि कृति नै सन्देशमूलक हाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =