
काठमाडौँ- सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएका पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलालाई स्पष्टीकरण सोधेको छ।
पर्यटन प्रवद्र्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत बास्तोललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
बास्तोलाले सरकारी लेटरहेडमा पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५’ सम्बोधन गरी फागुन ७ गते उनले दिएको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएका थिए।
पूर्वराजा ज्ञानेन्द्रको शाहको सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएको सरकारी लेटर हेड उनले आइतबार सामाजिक सञ्जालमा राखेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लेटरहेड प्रयोग गरेर शनिबार उनले एक्यबद्धता जनाएको पत्रमा भनिएको छ,‘श्री ५ महाराजधिराज ज्ञोन्द्र वीर विक्रम शादेव सरकारबाट ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा, मिति २०८१ फागुन ७ गते, राष्ट्रको रक्षा, राष्ट्रिय एकता कायम राखी देशको समृद्धि, उन्नति, प्रगति तथा कलासंस्कृति र नेपालीहरूको गौरवको लागि राष्ट्र र राष्ट्रवासीको नाममा व्यक्त गरिएको शुभकामना सन्देश तथा राष्ट्र जोगाउन गरिएको आग्रहलाई हार्दिक स्वागत गर्दछु।’
बास्तोलाले संवैधानिक राजसंस्थासहित हिन्दू, बौद्ध र किरात राष्ट्र निर्माण गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति, देश–विदेशमा रहेका नेपालीलाई यो घडीमा राजसंस्थालाई साथ दिन अनुरोध गरेका छन्।
‘राजा सबै नेपालीका साझा अभिभाव हुन्। २०६२/६३ पछिको परिवर्तनका सत्ताधारीहरूले राष्ट्रपति देखाएको उपेक्षा र जनताले भोगेको अवस्था प्रत्यक्ष प्रमाणित भइसकेको छ। वर्तमान अवस्थाले अब राजतन्त्र नै देशको अन्तिम विकल्प हो भन्ने कुरा जनताले बुझिसकेका छन्,’ वास्तोलाको स्वागत सन्देशमा भनिएको छ।
संस्कृति मन्त्रालयले पर्यटक प्रवद्र्धक बास्तोलाको यो कार्य पदीय जिम्मेवारीविपरित कार्य रहेको ठहर गरेको छ।
‘…गैरजिम्मेवारपूर्ण कार्य गरेवापत पर्यटन प्रवद्र्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम निजलाई पर्यटन प्रवद्र्धकको जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ घण्टाभित्र यस मन्त्रालयमा लिखिट स्पष्टीकरण पेस गर्न निर्देशन गरिएको व्यहोरा सम्बन्धीत सबैलाई जानकारी गराइन्छ,’ मन्त्रालय सहायक प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले स्पष्टीकरण सोधेको पर्यटक प्रवद्र्धक वास्तोलाले भने कारबाही गर्न चुनौती दिएका छन्। देशमा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता भएको भन्दै उनले कारबाही गर्न चुनौती दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म देशमा राजसंस्थाको पक्षधर हो। राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख। जुन दिन देशमा राजतन्त्र आउने छ फेरि त्यतिबेला जिम्मेवारी लिउँला। तिमीहरूको भ्रष्टहरूको सरकारमा यो कागजी पदमा बस्न मलाई चाहना छैन बुझ्यौ–मेरो स्पष्टीकरण यही हो।’
वास्तोलाले पर्यटक प्रवद्र्धक पद लिएवापत सरकारबाट एक रूपैयाँ पनि नलिएको दाबी गरेका छन्। आफ्नै खर्चमा पोस्टर र ब्यानर ल्याएर प्रचार गरेको उनले उल्लेख गरेका छन्।