
काठमाडौँ- नेकपा माओवादी केन्द्रले केही सातादेखि जारी राखेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ कार्यक्रम एकाएक रोकेको छ। फागुन १२ गते सुरु भएको अभियान मधेश प्रदेशको रौतहट पुगेर स्थगित भएको हो। अभियान चैत ७ सम्म चलाउने कार्यतालिका थियो। कोशीबाट मधेश हुँदै सुदूरपश्चिम पुग्ने गरी कार्यतालिका बनाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ सक्रिय भएका थिए। मधेशमा समेत पूरा नभई अभियान स्थगित भएको छ।
अभियानमार्फत माओवादीका नेताहरूले जनतासँग भेट्ने, कुरा सुन्ने र प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। माओवादीले अभियानमा अधिकांश पदाधिकारीसहितका नेताहरू खटाएको थियो। अभियानको मोर्चामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रपंक्तिमा थिए।
माओवादीले हुलाकी राजमार्गअन्तर्गत जनता जोड्ने अभियान चलाउँदा केही प्रगति भएको समेत दाबी गरेको थियो। मधेशमा अन्य दलबाट माओवादी प्रवेश गर्ने लहर बढेको नेताहरूको भनाइ छ।
दैनिकजसो प्रचण्डले अन्य दलका नेता पार्टी प्रवेश गराइरहेका थिए। हठात् माओवादीले अभियान रोकेको छ भने नेताहरू काठमाडौँ फर्किएका छन्। माओवादी नेताहरूका अनुसार काठमाडौँमा राजावादी आन्दोलन बढेकाले अभियान रोकिएको हो।
माओवादी प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटा राजावादीहरू ‘सलबलाएका’ ले अभियान स्थगित गरिएको बताउँछन्। सापकोटाले यस्तो अभिव्यक्ति दिए पनि माओवादीभित्रै आन्तरिक कारणले अभियान रोकेको आरोप लाग्दै आएको छ। ‘राजावादी शक्तिले प्रदर्शन गरे पनि अभियान चलाउन सकस थिएन। यसअघि पनि निरन्तर राजावादी शक्तिले प्रदर्शन गरिरहेकै थिए’, माओवादीका एक नेताले भने।
माओवादीले आइतबार पदाधिकारी बैठक बोलाएर अभियानको समीक्षा गरेको छ। प्रवक्ता सापकोटाका अनुसार समीक्षापछि अभियान कसरी थाल्ने रणनीति बन्नेछ। माओवादी नेताहरूका अनुुसार राजावादीको प्रदर्शनका कारण मात्रै अभियान रोकिएको होइन। विभिन्न समस्या एकैपटक परेपछि अभियान रोकिएको हो।
अभियान रोक्नुका यस्ता छन् अन्य कारण
प्रतिपक्षीविहीन संसद् बनेको आभास : पछिल्लो समय प्रचण्ड जिल्लाजिल्ला घुमिरहेका छन्। यसबीचमा एकपटक काठमाडौँ आए पनि उनी फेरि कार्यक्रममा जोडिए। प्रचण्ड गत फागुन १४ मा विराटनगरबाट काठमाडौँ आएका थिए।
मधेशमै व्यस्त रहेका कारण राष्ट्रिय राजनीतिमा समेत माओवादीविहीन बनेको नेताहरूको दाबी छ। संसद्मा भूमिका कमजोर देखिएको बुझाइ माओवादी नेताहरूको छ।
माओवादी उपमहासचिव मातृका यादव भन्छन्, ‘माओवादीले आफ्नो भूमिका काठमाडौँबाट पूरा गर्नुपर्छ भन्ने बुझाइ रह्यो।’ पछिल्लो समय समसामयिक राजनीतिक विषयमा माओवादी बेखबरजस्तो बनेको नेताहरूको बुझाइ छ। अध्यक्ष प्रचण्डले दोस्रो स्तरका नेतालाई लिएर बाहिर जाँदा संसद्मा आफ्नो उपस्थिति कमजोर रहेको नेताहरू बताउँछन्।
माओवादी नेता हिमाल शर्मा सबैतिर प्रचण्ड चाहिने भएकाले पनि अभियान रोकिएको बताउँछन्। ‘सदनदेखि अभियानसम्म प्रचण्डको खोजी हुन्छ। सबैतिर पुग्नका लागि अभियान रोकिएको हो’, शर्मा भन्छन्। यतिबेला संसद्मा अध्यादेश र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषय चर्को रूपमा उठेको छ। माओवादीले संसद्बाटै ती विषयमा जबाफ दिनु आवश्यक ठानेको छ। अध्यक्ष मधेशमै रुमलिने हो भने यस्ता विषयले ठाउँ नपाउने नेताहरूको बुझाइ छ।
दौडधुप थकित भए नेताहरू : माओवादी अभियानको कार्यसूची बिहान ५ बजे सुरु भएर रातिसम्म चल्थ्यो। प्रचण्डे मर्निङवाकदेखि नै कार्यकर्तासँग जोडिन्थे। प्रचण्ड र दोस्रो स्तरका नेताहरूले कार्यकर्ता सँगै खाना खाएर कुराकानी गर्थे। प्रचण्डको जीवनशैलीको बारेमा समेत कार्यकर्ताले प्रशंसा गरेका थिए।
यस्ता कार्यक्रमका कारण नेताहरूलाई आराम गर्ने समय नभएको नेताहरूले बताएका छन्। ‘सधैँ एकै किसिमका कार्यक्रमले नेताहरूले समय दिन सक्नुभएन। यसले गर्दा कार्यक्रम रोकिन पुग्यो’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘राजावादी सल्बलाएका कारण हो तर प्रमुख कारण त्यो होइन।’
बिहानदेखि रातिसम्म सामूहिक यात्रामा निस्किँदा माओवादी नेताहरू बिरामी पर्न थालेका छन्। सामूहिक यात्रा गर्नुपर्ने र सबै कार्यकर्तासामु देखिनुपर्ने कारण बिस्तारै विभिन्न समस्या देखिएको नेताहरूले बताएका छन्।
‘यतिबेला मौसम परिवर्तन हुने समय छ। त्यसैले रुघाखोकी लाग्ने गर्छ,’ एक नेता भन्छन्, ‘यो समयमा बिरामबाट बच्नुपर्छ भन्ने भएर पनि अभियान रोकियो।’
स्ववियु निर्वाचनको चटारो : चैत ५ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदैछ। विद्यार्थी संगठन यसमै लाग्नुपर्नेछ। यसबारे माओवादीले समेत तयारी गर्नुपर्ने छ। अभियान चलाइरहे रणनीति बनाउन नसकिने माओवादीको बुझाइ छ।
‘विद्यार्थीले यतिबेला स्ववियु चलाउनुपर्नेमा अभियान चलाउँदा गुनासो गर्न सक्छन्,’ उपमहासचिव यादव भन्छन्, ‘अर्को कुरा, विद्यार्थी समेत स्ववियुमा सहभागी हुन्छन्। विद्यार्थी नहुँदा अभियान चल्दैन।’ यही कारण पनि अभियान स्थगित गरिएको हो।
अस्तव्यस्त कार्यसूची : माओवादी नेताहरूका अनुसार अभियानका कार्यक्रमको कार्यसूची अस्तव्यस्त भएको छ। ‘अभियान अनौपचारिक रूपमा सबैभन्दा धेरै जनतामा जोडिने कार्यक्रम थियो। तर औपचारिक कार्यक्रम धेर भए,’ उपमहासचिव यादव भन्छन्, ‘हामीले त आमसभाका कार्यक्रम कम गर्ने बनाएका थियौँ। कार्यक्रम परिवर्तन भयो।’ माओवादीले अब नयाँ ढाँचाका कार्यक्रम अघि बढाउने उनले बताए।
‘अब एक दुईदिन कार्यक्रम गर्ने, त्यसपछि काठमाडौँ आउने। अनि समीक्षा गरेर फेरि प्रदर्शनमा जान्छौँ’, यादव भन्छन्। माओवादी नेता हिमाल शर्मा पनि ढाँचा फेरेर कार्यक्रम अघि बढाउने दाबी गर्छन्।