
काठमाडौँ- वैकिल्पक राजनीतिको वकालत गर्दै आएका चार पार्टीका शीर्ष नेताहरूबीच छलफलमा जुटेका छन्। सामाखुसीस्थित एक क्याफेमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाबीच छलफल भइरहेको छ।
चार अध्यक्षबीच वैकल्पिक राजनीतिलाई अगाडि बढाउन पार्टी एकता गरेर जानुपर्ने विषयमा कुराकानी भएको स्रोतको भनाइ छ। छलफलमा सहभागी नागरिक उन्मुक्ति पार्टी र जनमतबीच पार्टी एकताको सहमति भइसकेको छ। नयाँ शक्तिका अध्यक्ष डा. भट्टराईले यसअघि पनि वैकल्पिक शक्तिबीच एकजुट बनाएर अगाडि जाने विषयमा यी नेताहरूसँग छुट्टाछुट्टै भेट गर्दै आएका थिए। बिहीबार चार दलबीच भएको छलफलमा वैकल्पिक शक्तिले अपनाउने विषयमा रणनीति तय गर्ने बताइएको छ।
डा.भट्टराईले मंगलबार संस्थापक अध्यक्ष चौधरीसँग छुट्टै भेटवार्ता गरेका थिए। भेटका क्रममा देशमा विकसित हुँदै गइरहेको राजनीतिक संकट र वैकल्पिक अग्रगामी शक्ति निर्माणबारे गम्भीर विमर्श भएको डा.भट्टराईले बताएका थिए।
वैकल्पिक शक्ति : एकजुट हुने चार दलको प्रस्तावमा रवि लामिछानेको विमति