पोखरामा पहिलोपल्ट व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्दै हिमालय एयरलाइन्स

विजय नेपाल २० फागुन २०८१ २१:१२
54
SHARES
पोखरामा पहिलोपल्ट व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्दै हिमालय एयरलाइन्स

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलोपल्ट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। पोखराबाट आन्तरिक उडानबाहेक हालसम्म अन्तर्राष्ट्रिय रूपमा चार्टर उडान भरेको छ। हिमालय एयरलाइन्सले पोखरालाई चीनको ल्हासासँग जोड्ने गरी आगामी १८ चैतदेखि व्यावसायिक उडान गर्न लागेको विज्ञप्तिमार्फत जनाएको हो।

सातामा एउटा उडान गर्ने गरी उडान तालिकासमेत निर्धारण गरिएको कम्पनीले जनाएको छ। त्यसका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति लिइसकेको कम्पनी उपाध्यक्ष तथा प्रवक्ता विजय श्रेष्ठले बताए। उनका अनुसार हाल सातामा एउटा मात्र उडान हुनेछ भने पछि माग बढेमा योजना थपिनेछ। हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने रहेको उनले बताए।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पनि हिमालयले ल्हासामा पहिलो सेडुअल फ्लाइट गर्नेगरी उडान अनुमति मागेको बताए। कम्पनीका अनुसार १८ चैतमा बिहान काठमाडौँबाट जहाज चीनको ल्हासाका लागि उड्नेछ। ल्हासास्थित गोंगर विमानस्थलमा अवतरित जहाज सोही दिन उडेर पोखरा आउनेछ। पोखरामा रात्रिकालीन बसाइँपछि भोलिपल्ट पोखरादेखि ल्हासा उड्नेछ र त्यही दिन ल्हासा-काठमाडौँका लागि उडान भर्नेछ।

हिमालय एयरलाइन्सले पर्यटनको राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ड ’ ल्हासाबीचको यो उडान हिमालय एयरलाइन्सका लागि महत्त्वपूर्ण कोसेढुंगा भएको पनि विज्ञप्तिमा जनाएको छ। पोखरा-चीन जोड्ने उक्त उडानले नेपाल र चीनबीच सम्बन्ध अझ बलियो बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। काठमाडौँ-ल्हासा-पोखरा-ल्हासा-काठमाडौँ जोड्ने गरी हुने उडानबाट पोखराका पर्यटन व्यवसायीसमेत उत्साहित बनेका छन्।

यसैबीच, चीनको सिचुआन एयरलाइन्सले पनि पोखरा-छेन्दु व्यावासायिक उडानको चासो देखाएको छ। व्यावसायिक उडानपूर्व तीन महिनामा १२५० यात्रु उडान टार्गेट हुने भएको भन्दै पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन व्यवसायीले सस्तो प्याकेज बनाउँदैछन्।

परिषद् अध्यक्ष तारानाथ पहारीले भने, ‘पोखराबाट चीनका विभिन्न सहरमा हुन गइरहेका सीधा उडानले हामीहरू निकै उत्साहित छौँ । चैत ५ गते यताबाट फुड लोड नेपाली जाने हो। उताबाट तीन महिनामा १२५० टार्गेट छ । त्यहाँ (छेन्दु) मा ९ करोड जनसंख्या छ। नेपाली पनि गइदिने र सस्तो प्याकेज बनाउने, यहाँको संस्कृति त्यता देखाउने अनि पर्यटक आकर्षित गर्ने। त्यसको तयारीमा हामी जुटिरहेका छौँ।’ तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीकृत तालिका आइनसकेको विमानस्थल प्रवक्ता जसुदा सुवेदीले बताइन्। यसबारे परिषद् अध्यक्ष पहारीले भने, ‘व्यवस्थापनका लागि चिठी दिइसकेका छौँ। यताबाट पैसा हालेपछि उसले (चिनियाँ) एग्रिमेन्टमा सही गरेपछि पठाउँछ।’

यसअघि सिचुआनले छेन्दु-पोखरा चार्टर उडान गरिसकेको थियो। साथै ११ पुसमा पोखरा-काठमाडौँ फुल लोड उडान भरिसकेको थियो। उक्त दिन बिहान छेन्चुबाट पूर्ण क्षमतासहित १२९ यात्रु (क्रू मेम्बरबाहेक) बोकेर सिचुवान एयरलाइन्सको ‘एयरबस ३१९’ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएकोमा सोही दिन १२६ जना यात्रु (क्रु मेम्बरबाहेक) बोकेर काठमाडौँतर्फ उडेको थियो। पोखराबाट काठमाडौँ उड्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, पोखराका पर्यटन व्यवसायी र पत्रकारले यात्रा गरेका थिए।

सिचुवानले छेन्दु-पोखरा-काठमाडौँ-छेन्दु वा छेन्दु-काठमाडौँ-पोखरा-छेन्दु रुटमा उडान गर्ने योजना बनाएको छ। सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जीएसए) सोसाइटी इन्टरनेसनल हो।

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहबीच उद्घाटन गरेका थिए। त्यसयता झण्डै २७ महिनासम्म आन्तरिकबाहेक ११ अन्तर्राष्ट्रिय चार्टर उडानमात्र भए। विमानस्थल प्रवक्ता जसुदा सुवेदीले भनिन्, ‘विमानस्थल सञ्चालनदेखि हालसम्म ११ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। अब बिस्तारै व्यावसायिक उडान हुँदै जालान्।’

११ चार्टर उडानमध्ये सबैभन्दा बढी सिचुवानले तीन उडान गरेको छ। २१ जुन २०२३ मा छेन्दुबाट पहिलोपटक सिचुवान एयर पोखरा आउँदा ८४ जना यात्रु लिएर आएको थियो। त्यसपछि गत ७ नोभेम्बरमा सिचुवानकै जहाज १२० जना धावक लिएर कुन्मिङबाट आएको थियो।

प्रकाशित: २० फागुन २०८१ २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast