सर्वोच्च अदालतमा मंगलबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत।
काठमाडौँ- सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ। सर्वोच्चमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्।
त्यस्तै उनले जिल्ला अदालतहरूमा दर्ता हुने विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको समेत सुरुगरे। यसबाट मुद्दाको सुनुवाइ प्रक्रिया छिटोछरितो हुने तथा अदालतहरुमा न्यून कागजात प्रयोग हुने निकायका रूपमा विकास हुने अपेक्षा गरिएको सर्वोच्चले जनाएको छ।
कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रविधिमार्फत हुने सुधारलाई निरन्तरता दिने र यसले न्याय क्षेत्रमा अनियमितता हटाउँदै सेवासुविधा प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले जसरी भए पनि न्यायक्षेत्र सुधार गरेरै छाड्ने प्रतिबद्धता जनाए।


