प्लाई उद्योगको आगलागी अझै नियन्त्रणबाहिर

हिमाल प्रेस ११ चैत २०८१ १७:२९ | Monday, March 24, 2025
प्लाई उद्योगको आगलागी अझै नियन्त्रणबाहिर तस्बिर : रासस

काठमाडौँ– दाङको घोराही ९ खैरामा रहेको सांग्र्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए।

उनका अनुसार हाल ८ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ।

प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन समय लागेको बताइएको छ। आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताए। आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ।

यद्यपि अझै पनि क्षतिको विवरण आइपुगेको छैन। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन्। दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ।

आगो नियन्त्रणका लागि निरन्तर रुपमा लागे पनि उद्योगमा ठूलो आगो सल्किएका कारण नियन्त्रण गर्न समस्या भएको प्रहरी नायब उपरीक्षक शाहले बताए।

प्रकाशित: ११ चैत २०८१ १७:२९ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast