एसईई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न शिक्षामन्त्रीको निर्देशन

हिमाल प्रेस ४ चैत २०८१ १७:४३ | Monday, March 17, 2025
एसईई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन्।

मन्त्री भट्टराईले आज मधेश प्रदेशका शिक्षा विकास र समन्वय एकाइ प्रमुखहरूसँग भर्चुअल बैठकमा परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने बताइन्।

मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई सरकार र जनताप्रति जवाफदेही ढंगले सञ्चालन गर्न निर्देशन दिइन्।

उनले नियमविपरीत कार्य गर्ने व्यक्तिहरूलाई कठोर कारबाहीको चेतावनी दिँदै परीक्षाको मर्यादा कायम राख्न शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरू जिम्मेवार हुनुपर्ने बताइन्।

यस वर्षको एसईई ७ देखि १९ चैतसम्म देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुँदैछ। ४९ हजार २८६ विद्यार्थी थपिएसँगै परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १४ हजार ७१ पुगेको छ।

यसवर्ष बाल सुधार गृह र कारागारमा समेत परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयहरूको परीक्षा हुनेछ।

चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, चैत १३ गते सामाजिक शिक्षा र बाँकी २ दिनमा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ।

परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ चैत २०८१ १७:४३ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast