नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव : आर्थिक वृद्धिदर र रोजगार सिर्जनामा कोषको योगदान

हिमाल प्रेस ४ चैत २०८१ १७:०५ | Monday, March 17, 2025
नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव : आर्थिक वृद्धिदर र रोजगार सिर्जनामा कोषको योगदान

 काठमाडौँ- नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ। अर्थ सचिव घनश्याम उपाध्यायले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने कार्यमा कोषको भूमिका महत्त्वपूर्ण रहेको बताए। कार्यक्रममा उनले नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा कोषको रकम प्रयोग गर्नुपर्नेमा जोड दिए।

उपाध्यायले आम नागरिकलाई कोषमा आवद्ध गराउने र सामाजिक सुरक्षामा थप कार्य गर्न कोषलाई आग्रह गर्दै आगामी दिनमा नागरिकको हितमा कोषले काम गर्नुपर्ने अपेक्षा व्यक्त गरे। कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाले उच्च आर्थिक विकासमार्फत बेरोजगारीको अन्त्य र दिगो विकासमा जोड दिने आवश्यकताको बारेमा चर्चा गर्दै कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको चुक्ता पुँजी २ करोड ४४ लाखबाट ६ अर्ब ४८ करोड १७ लाख पुगेको जानकारी दिँदै कोषले अटोमेसन र डिजिटलाइजेसनलाई प्राथमिकता दिँदै सेवा र हिसाब-किताबलाई चुस्त राख्ने योजना बनाउन लागेको बताए।

कोषको चालु आवको पुस मसान्तसम्मको वित्तीय स्रोत २ खर्ब ७३ अर्ब रुपैयाँ रहेको र यसका २ खर्ब ६४ अर्ब रुपैयाँ लगानी विभिन्न कर्जा, ऋणपत्र र अन्य स्रोतमा रहेको जानकारी पनि दिइयो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष र अन्य कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी सिर्जनामा प्रयोग गर्नुपर्ने आवश्यकताको बारेमा धारणा राखे।

कोषको पूर्वअध्यक्ष डा. भोजराज घिमिरेले २ सय ७३ अर्ब रुपैयाँको फण्ड सञ्चालन गर्नु ठूलो उपलब्धि भएको भन्दै कोषले अझै अगाडि बढ्नुपर्ने धारणा राखे। कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेल र नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्र विक्रम थापाले कोषसँग सम्बन्धित विभिन्न विषयहरूमा व्यवस्थापन र सरकारसँग आग्रह गरेका थिए।

प्रकाशित: ४ चैत २०८१ १७:०५ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast