
पोखरा- पोखरामा बिहीबारदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। बुक वर्म फाउण्डेसन आयोजनामा फेवाताल किनार बाराहीघाटमा सुरु फेस्टिभल चार दिनसम्म चल्नेछ। फेस्टिभलको प्रमुख प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो।
फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम फेस्टिभल निर्देशक अजीत बरालले जानकारी दिए।
उनका अनुसार देशविदेशका दुई सय जनाभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर छलफल हुनेछ। परम्परागत धुन र लयलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ।
फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ। फेस्टिभल नयाँ पुस्ताका लेखक तथा विचारक तयार पार्ने माध्यम बन्ने आयोजकको दाबी छ।
फेस्टिभल उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए। उनले भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको स्मरण गर्दै यो साहित्य महोत्सव बहुआयमिक कार्यक्रम हो भने। उनले भने, ‘यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायत विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ। यो अन्यभन्दा नितान्त नौलो र सिर्जनशील कार्यक्रम हो। उनले पुस्तक पढ्ने संस्कृतिको विकास गर्दै पोखराको पर्यटन क्षेत्रमा पनि यसले टेवा पुर्याउने विश्वास गरे। उद्घाटन सत्रमा प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत प्रवचन दिए।
पहिलो दिन ‘अलिअलि हार हो, अलिअलि जित!’ सेसनमा अभिनेत्री मनीषा कोइरालासँग पत्रकार विजयकुमारले छलफल गरे। अभिनेत्री कोइरालाले आफू हाल जीवनको तेस्रो घुम्तीमा रहेको बताइन्। ‘मेरो जीवनका तीन घुम्तीहरू छन्, जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्री। दोस्रो जब मलाई क्यान्सर भयो। मलाई थाहा थिएन, बाँच्छु वा मर्छु,’ उनले भनिन्, ‘अहिले म ५४ वर्षकी भएँ। मेरो कोशिस के छ भने नौलो जिन्दगी हुनेछ। मसँग यत्रो वर्षको भोगाइ, पीडा र सुखदुःखको एउटा अनुुभव छ। त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने ? भनेर अहिले तेस्रो घुुम्तीमा छुु।’
‘प्रदेशका पाइला’ सेसनमा फेस्टिभलका सदस्य भरत कोइरालाले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग छलफल गरे। मुख्यमन्त्री पाण्डेले केन्द्रीकृत शासन सत्ताको परम्पराबाट बाहिर निस्कन नसकिएको बताए। राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रमा अधिकार हस्तान्तरण गर्न नचाहने समस्या देखिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो। ‘केन्द्रीकृत शासन सत्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा देखिन्छ। मैले उपयोग गरिरहेको अधिकार अरूलाई हस्तान्तरण गर्न नचाहने मानसिकता हुने रहेछ,’ उनले भने, ‘त्यसले नै हामीलाई काम गरेको छ। त्यो पावर तल दिन खोजेका छैनन्। त्यसकारण जनताले उठाएको प्रश्न सम्बोधन गर्न सकेका छैनौं।’
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार विजय तिमिल्सिनाले ‘सञ्चार संवाद’ बारे छलफल गरे। सरकारका प्रवक्ता गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न आमसञ्चार विधेयक ल्याएको बताए। संवादमा मन्त्री गुरूङले सामाजिक सञ्जालमार्फत हुने लुट, हिंसा रोक्न विधेयक आवश्यक रहेको दाबी गरे।
‘राजनीतिका सुखदुःख’ मा गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीसँग पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा गफिइन्। ‘स्मृतिमा भूपी’ सेसनमा वसन्त थापाले कान्ति शेरचन र कविता शेरचनसँग कुराकानी गरे।
‘त्यो पत्र, यो प्रेम र साहित्य’ सेसनमा आयोजक समिति सदस्य केशवशरण लामिछानेले भावेश भुमरी, प्रणीता चाम्लिङले कुराकानी गरे। ‘रैथाने ज्ञानको विज्ञान’ सेसनमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग कुराकानी गर्दा अन्तिम सेसन ‘गण्डकीमा गुरुङ र मगर भाषा’ बारे गौरी तमुले गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा, विष्णु सिंजाली र जूनाकुमारी गुरुङले छलफल गरिन्।