
काठमाडौँ- प्रजातन्त्र दिवसको पूर्वाधमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर नेपाली राजनीतिमा तरंग पैदा भएको छ। पूर्वराजाको अभिव्यक्तिले राजावादी शक्तिहरू हौसिएका छन् भने लोकतन्त्रवादी शक्तिहरू आक्रोसित बनेका छन्।
राजावादी शक्ति मानिने राप्रपा र राप्रपा नेपाल लगायतका पार्टी पूर्वराजाले देशबारे गरेको चिन्ता स्वाभाविक भएकाले अबको नेतृत्व उनलाई नै सुम्पनुपर्ने तर्क गरिरहेका छन्। यता लोकतन्त्रवादी शक्ति भने लोकतन्त्रको विकल्प राजा हुनै नसक्ने जिकिर गर्छन्। यो विषयले संसद्मा समेत प्रवेश पाएको छ।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा सत्तामा फर्किन चाहना भए चुनावमा भाग लिन चुनौती दिएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरू नै समाजमा अराजकता फैलाइरहेको बताएकी हुन्।
‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै पक्ष र विपक्षमा मतहरू छताछुल्ल भए। यो व्यवस्था नै ठिक छैन भन्ने डंका पनि पिटिए,’ उनले भनिन्, ‘जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा उठाए बिडम्बना उनैले संविधानको भावना विपरित लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको देख्दा २०६२/०६३ को जन आन्दोलन र गणतन्त्रको लागि मर्न तयार त्यो जनसागर झलझली सम्झिरहेको छु। लोकतन्त्रमा बोल्न मज्जाले पाइन्छ सभामुख महोदय तर अराजक र समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि छैन।’
यता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रले गणतन्त्र लुटतन्त्र भइरहँदासम्म विरोध गरिरहने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाको बैठकमा केही सांसदले पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर जनाएको आपत्तिप्रति आपत्ति जनाउँदै लिङ्देनले यस्तो प्रतिक्रिया दिएका हुन्।
गणतन्त्रले गणतन्त्र लुटतन्त्र भइरहँदासम्म विरोध गरिरहने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाको बैठकमा केही सांसदले राजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर जनाएको आपत्तिप्रति आपत्ति जनाउँदै लिङ्देनले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ, राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। यहाँ गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो जसरी प्रश्न उठाइयो,’ उनले भने, ‘तपाईंले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस् गणतन्त्र लुटतन्त्र हुन्छ भने हामी निरन्तर विरोध गरिरहन्छौँ।’