
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले एमाले र केहिले माओवादीसंग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको प्रस्ट पारेका छन्।
ललितपुरमा शुक्रबार सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुभारम्भ गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी आफ्नो विचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन्। उनले यति बेला कुनै आफ्नो पार्टीलाई बलियो बनाएर लगिने बताए।
उनले एमालेसँग तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको बताए। अध्यक्ष नेपालले वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको आरोप लगाए। सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरेका छन्। आचारसंहितामा निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्नेलगायतका विषय समेटिएको छ।