प्रसङ्‌ग अफगानिस्तानको, सन्दर्भ नेपालको

ध्रुवहरि अधिकारी १० फागुन २०८१ ७:४६
232
SHARES
प्रसङ्‌ग अफगानिस्तानको, सन्दर्भ नेपालको

युक्रेन-रुस र इजरायल-हमास सशस्त्र संघर्षका कारण सम्पूर्ण विश्व त्यसै पनि अशान्त थियो। २० जनवरी २०२५ मा डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो महिनामा नै हलचल तीव्र भएको छ। आशङ्‌का,अन्योल र अनिश्वय सर्वत्र व्याप्त छ। एसिया मात्र अपवाद रहने कुरो भएन यद्यपि भारत र चीन आपसमा प्रतिस्पर्द्धी हुँदाहुँदै पनि एक तहमा समझदारी कायम राख्न सफल भएका छन्। अन्यथा सीमा-विवाद चर्किने स्थिति देखापर्ने थियो।

नेपाल विश्व-परिस्थिति र खासगरी छिमेकका दुई ठूला देशको आपसी सम्बन्धलाई सुक्ष्म तरिकाले पर्यवेक्षण गरिरहेको छ। लडाञी र सशस्त्र आक्रमणकाघटनाहरूले बिग्रेका अन्तर्राष्ट्रिय सम्बन्धहरूले सामरिक आयाम समातेको देखिएको हुँदा नेपालमा पनि सेनालगायतका सुरक्षा निकाय चनाखो हुनु अपरिहार्य छ। यसै क्रममा नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलले वरिष्ठ सैनिक अधिकृतहरू (पृतनापति)को सम्मेलनको पहिलो दिनमा नै ‘आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार-चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतीहरू सृजना हुने सम्भावना रहेको’ चर्चा गरेको विषयलाई जानकारीमा लिन सकिन्छ।

अन्तर्राष्ट्रिय अवस्थामा आएको जटिलता एकातिर छ भने आन्तरिक राजनीतिको खिचातानीले सरकारको स्थायित्वमा देखिएको जटिलता अर्कोतिर छ। यस्तो तरल अवस्थामा सानो भूगोलमा अवस्थित देश नेपालले आफूलाई बाहिरी शक्तिहरूको क्रीडास्थल हुनबाट जोगाउन आवश्यक रणनीतिसहित तयारी अवस्थामा रहनुपर्ने हुन्छ। सरोकारवाला निकायहरू उच्च सतर्कतामा रहने अपेक्षा गरिन्छ। किनभने प्रारम्भमा सानोतिनो देखिने गल्तीले समेत दीर्घकालीन असर पार्ने काम हुन सक्छ। र, नेपाल पनि एसियाको अफगानिस्तान र क्यारिबियन क्षेत्रको अस्तव्यस्त मुलुक हाइटीजस्तो बन्न पुग्नेछ। राष्ट्रहरू कसरी एकपछि अर्को गर्दै असफल (फेल्ड) राज्यको श्रेणीमा पर्न पुग्छन् जसको विवेचना सन् २०१३ मै प्रकाशित ‘राष्ट्रहरू कसरी असफल हुन्छन्’ भन्ने किताबमा सविस्तार वर्णन गरिएको छ। (WHY NATIONS FAIL) यस पुस्तकका लेखकद्वयले नेपाललाई अफगानिस्तान र हाइटीकै हाराहारीमा राखेर विभिन्न चुनौतीहरू उल्लेख गरेका छन्।

 उचित चिन्ता

अब ध्यान केन्द्रित गरौँ अफगानिस्तानतर्फ। यो देश दक्षिण एसियाको क्षेत्रीय संगठन ‘सार्क’ को सदस्यसमेत भएकोले नेपालका सुरक्षाविद्हरूले त्यहाँका गतिविधिबारे चासो राख्नु अनौठो भएन। ‘अफगानिस्तानः साम्राज्यहरूको चिहान’ नामक नयाँ प्रकाशनलाई यसै परिप्रेक्ष्यमा हेरिनुपर्छ। लेखक रविराज थापासँग प्रहरी सेवामा लामो समय काम गरेर अतिरिक्त महानिरीक्षकसम्मको जिम्मेवारी सम्हालेको अनुभव छ। प्रारम्भमा नेपाल प्रहरी र पछि सशस्त्र प्रहरी बलमा रहेर काम गर्नुका साथसाथै विभिन्न वैदैशिक तालिम हासिल गरेको हुनाले लेखक थापाको यस पुस्तकमा सुरक्षाक्षेत्रका गहन विषय र अन्तर्यहरू समेटिएको पाइन्छ। गहिरो र मिहीन अध्ययन गरेर सङ्‌कन गरिएका सूचना र आँकडाका आधारमा गरिएका सबैजसो विश्लेषणका पठनीय छन्। यसै वर्षको पौषमा प्रकाशित विवेच्य पुस्तकमा ३१८+ पृष्ठ छन् जसलाई पाँच भाग र २४ अध्यायमा विभाजन गरिएको छ।

पहिलो अध्यायमा अफगानिस्तानको राजतन्त्र र सन् १९३३ देखि १९७३ सम्म राज्य गर्ने राजा जहिर शाह कसरी अन्तिम राजा हुन पुगे भन्ने समेतको पृष्ठभूमि दिइएको छ। सन् १९६९ मा कम्युनिष्टहरूको प्रवेश सँगसँगै त्यहाँ बाहिरी हस्तक्षेपको सिलसिला शुरू भएको थियो, र त्यसैबाट त्यहाँको दुर्दिन शुरू भएको हो।अफगानिस्तानलाई पहिले (साबिकको) सोभियत संघले सन् १९७९ देखि १९८९ सम्म आफ्नो अधीनमा पा-यो, पछि मुजाहिद्दिनलगायतका छापामार जत्थाहरूले कब्जा जमाए जसलाई अमेरिकीहरूले सघाए। सन् २००१ मा घटनाले अर्को मोड लियो; न्यूयोर्क र वाशिङ्टनमा ओसामा बीन लादेनको निर्देशनमा भएको आतङ्‌कारी हमलामा करिब तीन हजार निर्दोष सर्वसाधारणको ज्यान गएपछि राष्ट्रपति जर्ज बुशको अमेरिकाले अफगानिस्तानमा सेना नै खटायो। त्यसकै आडमा २० वर्षसम्म अमेरिकी संरक्षणमा रहेका टाठाबाठा अफगानहरूले देशमाथि शासन गरे। तिनलाई सघाउने दशौं हजारको संख्यामा अमेरिकी  सैनिक तैनाथ थिए। यस अवधिमा हजारौं मानिस र सैनिकको ज्यान गयो। सन् २०२१ मा आएर राष्ट्रपति जो बाइडेनले अमेरिकी सैनिक फिर्ता गराएपछि तालिबान नामक इस्लामी जत्थाले मुलुक हाँकेको छ। एकप्रकारको जङ्‌गली व्यवस्था कायम छ जहाँ मानव अधिकार, महिला अधिकार सबै कुण्ठित अवस्थामा छन्। चर्चित पुस्तकमा यी पाटाहरूलाई खोतलेर देखाइएको छ।

पुस्तकको प्राक्कथनमा लेखकलाई विस्तृत र खुलस्त भेटिन्छ। रवि थापालाई यो पुस्तक लेख्ने अठोट र जाँगर नेपाल पनि कतै शक्तिराष्ट्रहरूको छद्‌म लडाञीको थलो नबनोस् भनेर बेलैमा यस मुलुकका नीति-निर्माता र सुरक्षा निकायहरूलाई सावधान गराउने ध्येयले प्रदान गरेको देखिन्छ। प्राक्कथनमा परेको यो वाक्य हरेक पाठकको लागि मननीय छः-  ”समयमै बुझेनौं भने भविष्यमा नेपालले अफगानिस्तान र इराकको जस्तो अवस्था भोग्न बाध्य हुनपर्ने दिन आउन सक्छ।” समयमै नजोगाए भावी सन्ततिलाई कस्तो नेपाल सुम्पन सकिएला त्यसबारे सोचौं भन्ने लेखकको चिन्तायुक्त आग्रह भेटिन्छ।

 नेपाल सन्दर्भ

पुस्तक अफगानिस्तानको नियतिका विविध पक्षमा केन्द्रित हुँदाहुँदै पनि ठाउँ-ठाउँमा नेपालको समकालीन अवस्था र गलत सूचनाको प्रचार-प्रसारका कारण लिइएका अपरिपक्व निर्णयले गराएको हानि-नोक्सानीको झलक दिने प्रयास गरिएको छ। निरक्षर र सोझा अफगान नागरिकहरूलाई केही छुल्याहा र फटाहाहरूले कपोलकल्पित भाष्य फैलाइदिंदा नीति-निर्णयको तह (वाशिङ्‌टन) ले नमिल्दो निष्कर्ष निकालेर साधन-स्रोतहरू परिचालन गर्ने गरिन्थ्यो । लेखकले नेपालसँग मिल्दोजुल्दो उदाहरण यसरी दिएको पाइन्छः-”…कुरा बुझ्न नसकेर सन् १९९७ मा नेपाली काँग्रेसको सरकारले रोमियो-२ र किलो शेरा अपरेसन गराइदिँदा नेकपा माओवादीले त्यसबाट ठूलो फाइदा उठाउन सफल भएको थियो…प्रोपोगण्डा गरेर उसले आफ्ना गुरिल्ला सेना र कार्यकर्ताको संख्या प्रशस्त बढाएको थियो।…”  (पृष्ठ ९३)

पुस्तक कति गहन छ भन्ने कुरा त्यसमा पाइने विषय र अन्तर्वस्तुले तय गर्छन्। तथापि भौतिक आवरण आकर्षक हुँदा पाठकलाई थप सुविधा प्राप्त हुन्छ। यस आधारमा नियाल्दा पनि रवि थापाको प्रयत्न प्रशंसनीय लाग्छ। आवरणमा राखिएको नक्सा र घोडचढीको चित्रले पाठकलाई मार्गदर्शन गराउँछ,सन्देह छैन। परन्तु भित्री पृष्ठहरूमा पनि सान्दर्भिक तस्बिर,रेखाचित्र वा नक्साहरू राख्न पाएको भए सुनमा सुगन्ध हुनेथियो।

यदाकदा तथ्यगत त्रुटि दृष्टिगोचर हुन्छन्। डोनाल्ड रम्सफेल्ड उस बखतका रक्षामन्त्री थिए तर यहाँ ‘राज्यमन्त्री’ छापिएको छ।(पृष्ठ १६१)। यो छपाइको त्रुटि हुनसक्छ तर हिलारी क्लीन्टनलाई रक्षामन्त्री लेखिनुचाहिँ लेखककै असावधानी हुनुपर्छ (पृष्ठ १००)। अर्को कुरा, व्यक्ति विशेषको,राजनीतिक दलको,गुटको ‘स्वार्थ’ हुन्छ तर जब राष्ट्रको सन्दर्भ आउँछ त्यस बखत ‘राष्ट्रियहित’ भन्नुपर्छ, लेख्नुपर्छ भन्ने मेरो मान्यता छ। यो परामर्श रवि थापाको लागि मात्र होइन,यस विधामा कलम चलाउने हरेक लेखलाई हो। मान्ने वा नमान्ने उहाँहरूको मर्जी।

नेपाली पाठकलाई लक्ष्य गरिएको प्रकाशनमा सकेसम्म नेपाली भाषामा उपलब्ध शब्दहरू प्रयोग गर्नु उचित हुन्छ। नेपाली लवज नभेटिएको अवस्थामा संस्कृत शब्दको प्रयोग निर्वाध ढङ्‌गले गर्न पाउने सुविधा हामीलाई छँदैछ। तसर्थ, लेखकहरूले  नेपाली पुस्तकमा अंग्रेजीको अधिक प्रयोग भयो भने भुटेका मकै खाँदा फाँकैपिच्छे ढुङ्‌गा लागेजस्तो हुने अवस्थाको सिर्जना नगर्नु बेश। पुस्तकको आगामी संस्करणमा लेखक रवि थापाले यसतर्फ ध्यान दिने आशा गरौँ।

नेपाली पुस्तक प्रथमतः नेपाली पाठककै लागि लेखिएको हुन्छ, तथापि यो किताबचाहिँ खास गरेर प्रतिरक्षा,सुरक्षा र कूटनीतिका फाँटका अध्येता र अन्वेषकहरूको लागि निकै उपयोगी सन्दर्भ-ग्रन्थ हुने मेरो आकलन छ। किनभने अफगानिस्तानबारे यस कोणबाट लेखिएका पुस्तक बजारमा नगण्य नै होलान्।

प्रकाशित: १० फागुन २०८१ ७:४६

प्रतिक्रिया

One thought on “प्रसङ्‌ग अफगानिस्तानको, सन्दर्भ नेपालको

  1. Excellent writing. Thanks for constructive correctional comments. I have taken all suggestions with thanks and gratitude.
    Thak you once more.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast