वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

हिमाल प्रेस १४ मंसिर २०७९ २१:०४
100
SHARES
वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित वरिष्ठ पत्रकार अधिकारीलाई सम्मानित गरिँदै। तस्बिर- रासस

काठमाडौँ– मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई सम्मान गरिएको छ।

ज्ञानगुन प्रतिष्ठानद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र भाषाशास्त्री प्रा. डा. माधवप्रसाद पोखरेलले उनलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ प्रदान गरेका हुन्।

विश्वविख्यात रोयटर्स, बीबीसीलगायत समाचार समिति र दि टाइम्स पत्रिकामा लामो समय काम गरेका अधिकारीले पत्रकारिता विधामा रही पुर्‍याएको योगदान तथा व्यक्तित्वका विषयमा प्रकाशित कृतिसमेत सोही समारोहमा विमोचन गरियो।

नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत सोही कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’लाई स्रष्टा सम्मान गरियो।

अमेरिकामा रही नेपाली साहित्यको उन्नयनमा निरन्तर पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपाल र डा. महेशराज पन्त, समाजसेवी स्व रुक्मणिराज सिवाकोटी, पूर्वप्रधानन्यायाधीशद्वय धनेन्द्रबहादुर सिंह र विश्वनाथ उपाध्याय, सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहलगायत महानुभावको व्यक्तित्व र योगदानका विषय समेटेर प्रकाशित कृति विमोचन गरियो।

उक्त अवसरमा प्रा. डा. पोखरेलले भाषा, साहित्य, न्याय र समाजका अरू विधामा कीर्ति राख्ने र कृति प्रकाशन गरी गौरव राख्ने व्यक्ति नै मृत्युञ्जय हुने गरेको बताए।

पूर्वन्यायाधीश सिंहले ज्ञानगुन प्रकाशनका संस्थापकले युगमा विरलै हुने आफ्नोसहित एउटै कार्यक्रममा १२ वटा पुस्तक लोकार्पण गर्ने अवसर प्रदान गरेको भनी धन्यवाद ज्ञापन गरे।

सम्मानित व्यक्तित्व पत्रकार अधिकारी र साहित्यकार गिरी तथा ज्ञानगुन प्रकाशनका संस्थापक शेषराज सिवाकोटीले आ-आफ्नो क्षेत्रबाट देश र समाजका लागि पुर्‍याएको योगदानबारे भाषाविद् एवम् समालोचक शरदच्चन्द्र वस्ती, साहित्यकार प्रमोद प्रधान, साहित्यिक पत्रकार रोचक घिमिरे, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले प्रकाश पारे।

ज्ञानगुन प्रकाशनले समाजका समाजका विभिन्न क्षेत्रमा रही राष्ट्र र जनताको कल्याणका खातिर काम गर्ने व्यक्तिको योगदानबारेमा पुस्तक प्रकाशित गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =