
काठमाडौँ- १९औँ शताब्दीमा निर्माण भएको मानिएको नित्यनाथ सत्तलको पुनःनिर्माणका लागि शिलान्यास भएको छ। आज पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरूले एकैपटक भवनका ५ ठाउँमा जग राखेर शिलान्यास गरेका हुन्। सत्तल पुनःनिर्माणको लागत करबाहेक करिब २ करोड २७ लाख रुपैयाँमा सम्झौता भएको छ।
तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ। दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइनेछ। तेस्रो तला अर्थात् बुँइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ। परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नु पर्ने प्रचलन छ। यसरी गरिने पूजामध्ये पनि विहीबारको पूजालाई विशेष मानिन्छ। यही मान्यताअनुसार विहीबारको दिन पारेर आज शिलान्यास गरिएको हो।
शिलान्यासपछि पूर्वमन्त्री थापाले महानगरपालिकाको नेतृत्वमा प्रशंशा योग्य काम भएको उल्लेख गरे। ‘सम्पदा संरक्षण गर्ने काममा,जन सरोकारका काममा यस अघि संघ र प्रदेश सरकारको लगानी माग्नुपथ्र्यो। अहिले महानगरपालिकाले लगानीको अभाव महसुस हुन दिएको छैन।’ उनको भनाइ थियो। त्यस क्रममा पशुपतिसँग स्थानीय बस्तीलाई छुट्याएर होइन। जोडेर लैजानु पर्नेमा जोड दिए।
०९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरिएको थियो। त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो। संरचनाको पूर्वअवस्थाका विषयमा जानकारी दिँदै वडाध्यक्ष संगतले भने,‘सांस्कृतिक सहरको पहिचान कायम गराउन नेपाली परम्परागत शैलीमा सत्तलको पुनःनिर्माण गर्न लागिएको हो।’
यो सत्तल १९ औँ शताब्दीमा निर्माण भएको अभिलेखमा देखिन्छ। सत्तलको ऐतिहासिक पृष्ठभूमिका विषयमा जानकारी दिँदै सम्पदा तथा पर्यटन विभागका प्रमुख राईले निर्माण कसले गराए, किन गराए, जीर्ण भएका बेला कसकसले पुनःनिर्माण गराए भन्ने विवरण अभिलेखमा नदेखिएको बताइन्। ‘९० सालको भूकम्पले भत्किएर एकातिर जीर्ण गारो भएको संरचना मात्र अभिलेखन छ।’ राईको भनाइ छ।