
अमेरिकाका उपराष्ट्रपति जेडी भान्स म्युनिख सुरक्षा सम्मेलनमा सहभागी भएकै कारण सो सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा विशेष गरी युरोपेली नेताहरूको ध्यान केन्द्रित रह्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पुनरागमनले युरोपेली संघका देशहरूलाई गम्भीर असमञ्जसमा पारेको छ। उनीहरूभित्र रहेको अनिश्चितताको भावनालाई सम्मेलनमा स्पष्ट रूपमा अनुभूति गर्न सकिन्थ्यो। त्यसैले तीन चिन्ताहरू कसरी हटाउलान् भन्नेमा सबैको ध्यान भान्सतर्फ थियो।
शुक्रबार जेडी भान्सको अभिव्यक्ति झन् चिन्ता बढाउने किसिमले आयो। उनले युरोपप्रति कडा आलोचना गरे। सम्मेलनमा सहभागी धेरै नेताहरू रुष्ट देखिए। जर्मनीका रक्षामन्त्री पिस्टोरियसले भान्सको भनाइ ‘अस्वीकार्य’ रहेको बताए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त ‘युरोप र अमेरिकाबीचको दशकौँ पुरानो सम्बन्ध अब अन्त्य हुँदैछ’ भन्ने अभिव्यक्ति दिए।
चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि म्युनिख सुरक्षा सम्मेलनलाई सम्बोधन गरेका थिए। उनको दृष्टिकोण युरोपेली देशहरूप्रति बढी समझदारीपूर्ण र समाधानमुखी देखिन्थ्यो। उनले चीनले युरोपलाई प्रतिस्पर्धी होइन, सहयोगीका रूपमा हेर्ने बताए। वाङ यीले युक्रेन-रूस शान्ति वार्तामा रचनात्मक भूमिका खेल्ने प्रस्ताव पनि राखेका छन्। वाङ यीले जर्मन चान्सलर ओलाफ सल्त्ससँग विश्वशान्ति र स्थिरता कायम राख्ने सकारात्मक द्विपक्षीय प्रयासअन्तर्गत जर्मनीसँग सबै क्षेत्रमा सहयोग विस्तार गर्ने चाहना व्यक्त गरे।
ट्रम्पको शासनकालमा अमेरिका आफैँतर्फ केन्द्रित हुँदै गएको छ। अमेरिका अन्तर्राष्ट्रिय संगठनहरू र सम्झौताहरूबाट बाहिर निस्कँदैछ। नेटोबाट बाहिरिने धम्की दिँदैछ। अर्कोतर्फ चीन भने विश्व मामिलामा बढ्दो चासो देखाउँदैछ र आफ्नो भूमिका विस्तार गरिरहेको छ। यसको अर्थ चीन अब अमेरिकाको स्थान लिँदै विश्वको निर्णायक शक्ति बन्न चाहन्छ?
हार्वर्ड विश्वविद्यालयका प्राध्यापक एवम् चीन मामिलाका विज्ञ ग्राहम एलिसनले भने, ‘चीन जे सम्भव छ त्यही बन्न चाहन्छ। अमेरिका व्यापार सम्झौताबाट बाहिरिन्छ भने ती सम्झौतालाई चाहिने आर्थिक शक्ति भएका चीनजस्ता देशहरूले त्यस खाली ठाउँ भरिदिनेछन्।’
एलिसनले ट्रम्प अन्तर्राष्ट्रिय संस्थाहरूबाट बाहिरिरहे भने चीन अघि बढ्ने बताए। उनले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङले यो देखिसकेका छन् कि अब धेरै अवसर सिर्जना भइरहेका छन्। अमेरिकाले आफ्नो चाल सहीसँग नचालेमा बेइजिङका लागि सफलता हासिल गर्न सजिलो हुनेछ।’
चीनले एसिया, अफ्रिकालगायत विश्वका विभिन्न क्षेत्रमा व्यापक लगानी गरिरहेको छ। पछिल्ला दशकमा ती क्षेत्रहरूमा चीनको पकड बलियो बन्दैछ। अफगानिस्तान होस् वा मध्यपूर्व, चीनले ती स्थानमा आफ्ना प्रभाव मध्यस्थकर्ताका रूपमा उपयोग गरेको छ।
पेकिङ विश्वविद्यालयको चाइना सेन्टर फर इकोनोमिक रिसर्चका निर्देशक याओ याङले युरोपले चीनसँग घनिष्ठ सम्बन्ध राख्न चाहन्छ भने उसले चीनप्रति स्वतन्त्र नीति अपनाउन आवश्यक रहेको बताए। याओले भने, ‘अमेरिका आफ्ना घरेलु मुद्दालाई बढी प्राथमिकता दिन चाहन्छ भने युरोपले पनि त्यही गर्नुपर्छ। चीन र युरोपसँग मिलेर गर्ने धेरै सम्भावनाहरू छन्।’
यद्यपि चीन र रूसबीचको निकट सम्बन्ध यस मामिलामा बाधा बन्न सक्छ। हालै चीनले ट्रम्पद्वारा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्ने विषयमा गरिएको वार्ताको स्वागत गरेको छ। चीनले शान्ति स्थापना प्रक्रियामा आफ्नो भूमिका खोजेको छ। एलिसन भन्छन्, ‘चीन आफूलाई शान्ति कायम गर्ने शक्ति रूपमा र युद्ध अन्त्य गर्ने पहलमा सहभागी हुन चाहन्छ।’
याओ पनि चीनको आर्थिक हितका लागि पनि युक्रेन-रूस युद्ध हुन आवश्यक रहेको बताउँछन्। ‘चीनले रूस र युक्रेन दुवैसँग व्यापार गर्छ। त्यसैले बेइजिङ निश्चित रूपमा यस क्षेत्रमा शान्ति स्थापना गर्न दबाब दिन चाहन्छ।’ चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले म्युनिखमा युरोपेली नेताहरूलाई सबै पक्ष मिलेर वार्ता गर्न इच्छुक भए युक्रेनमा शान्ति स्थापना सम्भव रहने बताएका छन्। डीडब्ल्यूबाट