काठमाडौँ- निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘भाइरल गोर्खे’ आगामी वर्ष २०८२ जेठ १० मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै जेठ १० मा प्रदर्शन गर्ने जानकारी दिएको छ।
एक पोस्टरमा अभिनेता सौगात मल्ल सामाजिक सञ्जालमा लाइभमा रमाइरहेका छन् भने अर्को पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरमार्फत पछिल्लो समय नेपालमा मौलाउदै गरेको भाइरल प्रवृतिप्रति संकेत गरेको छ।
‘अहिले नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुन जे पनि गर्ने प्रवृत्ति बढ्दो छ,’ निर्देशक निगम श्रेष्ठले भने, ‘हाम्रो फिल्म यही विषयमा केन्द्रित छ। भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम फिल्ममा देखाइनेछ।’
फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलालगायत कलाकारको अभिनय छ। अमर महर्जनले छायांकन गरेको फिल्म लमजुङको भुजुङसहित गोरखा र चितवनमा सुटिङ गरिएको छ।
फिल्मका निर्माता विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन्। द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

