
काठमाडौँ- मलेसियाली रोजगारदाता कम्पनीले नेपाली कामदारलाई छुट्याउँदै आएको कोटा कटौती गर्न थालेका छन्। मलेसियाको गृह मन्त्रालयअन्तर्गतको विदेशी कामदार व्यवस्थापनका लागि एकीकृत केन्द्रले जारी गरेको सूचनामा पर्यटन सेवा क्षेत्रमा कामदार कटौती गरिएको उल्लेख छ।
मलेसियाले स्पा थेरापिस्ट, फुट मसाज थेरापिस्ट, हाउसकिपिङ (रिसोर्ट उपक्षेत्र), हाउसकिपिङ (गोल्फ उपक्षेत्र), क्याडी, सहायक मनोरञ्जन थिम पार्क अपरेटर, सहायक जल थिमजस्ता पदमा रोजगारी कटौती गरेको हो। यिनै क्षेत्रमा घरेलु रोजगारीबाहेक पनि महिला कामदारलाई नेपाल सरकारले श्रम स्वीकृति दिन रोक लगाएको छ।
मलेसियाले चार महिनाअघि कृषि प्लान्टेसन (पाम आयल), गार्मेन्ट, सिलाइबुनाइ, गरगहना र नाई क्षेत्रमा आंशिक रूपमा विदेशी कामदारको माग गर्न थालेको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भीर नहुँदा नेपाली कामदारको कोटा कटौती हुन थालेको गुनासो व्यवसायीको छ। कामदार कटौतीको मुख्य कारण नेपालमा मलेसिया जाने कामदारमाथि लगाइएको स्वास्थ्य सिन्डिकेट भएको आरोप वैदेशिक रोजगार व्यवसायीहरूले लगाएका छन्।
२०७५ सालमा शून्य लागतसहितको श्रम सम्झौता भएपछि मलेसियाले नेपाली कामदारलाई प्राथमिकतामा राखेको थियो। गत वर्षदेखि सिन्डिकेट र प्रक्रिया देखाउँदै मलेसियाका रोजगारदाता कम्पनीले कोटा कटौती गर्न थालेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वसदस्य लक्ष्मण पौडेलले बताए। उनका अनुसार कटौती गरिएका क्षेत्रमा तत्काल नेपाली कामदार जान पाउने छैनन्। यसैगरी कृषि प्लान्टेसनमा पहिलो चरणमा २७ हजार विदेशी कामदार माग गरिए पनि मलेसियाका कम्पनीले नेपालका लागि पाँच सय कोटा छुट्याएको उनले जानकारी दिए।
मलेसियाले छुट्याएको २७ हजार कोटामध्ये इन्डोनेसियाबाट २० हजार, फिलिपिन्स, श्रीलंका, बंगलादेश र भारतबाट साढे ६ हजार कामदार लैजाँदा नेपाललाई पाँच सय कोटामात्र दिएको उनले बताए। ‘मलेसिया सरकारले सुरक्षा गार्ड, पर्यटन क्षेत्र, फर्निचर, सरसफाइ र साना औद्योगिक उत्पादनमा क्षेत्रमा आगामी महिनादेखि रोजगारी खुलाउँदैछ। यी क्षेत्रमा पनि नेपाली कामदारका लागि कोटा छुट्याएको छैन’, उनले भने।
म्यानपावरमार्फत दुई वर्षअघि दुई लाख १५ हजारभन्दा बढी नेपाली कामदार मलेसियाको श्रम बजारमा पुगेका थिए। सरकारले मलेसियाको समस्या तत्काल समाधान नगरे वार्षिक २० हजार कामदार पठाउन पनि समस्या हुने उनको दाबी छ। गत मार्च ३१ मा मलेसियाले विदेशी श्रमिकका लागि तोकिएको कोटा पूरा भएपछि नेपालसहित आप्रवासी श्रमिक लिन बन्द गरेको थियो। त्यसको सबैभन्दा ठूलो असर नेपाली श्रमबजारमा परेको म्यानपावर व्यवसायीहरू बताउँछन्।
आर्थिक वर्ष २०७९/८० मा दुई लाख १५ हजार नेपाली कामदार मलेसिया रोजगारीमा पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। गत आर्थिक वर्षमा ८१ हजार जना मलेसिया गएको विभागले जनाएको छ। चालु आर्थिक वर्षको ६ महिनामा तीन सय नेपाली रोजगारीका लागि मलेसिया गएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकारले मलेसियालगायत रोजगारदाता देशमा देखिएको सिन्डिकेट समस्या समाधान गर्न सम्बन्धित पक्षसँग छलफल गरिरहेको जानकारी दिए। मलेसिया नेपाली कामदारका हकमा मुख्य र राम्रो रोजगारदाता देश भएको उनी बताउँछन्।
वैदेशिक रोजगारी क्षेत्रलाई असर पार्न खालका कुनै पनि सिन्डिकेट सरकारलाई मान्य नहुने उनले बताए। ‘मलेसियाका रोजगारदाता कम्पनीले नेपाली कामदारको कोटा कटौती गर्न थालेको गुनासो म्यानपावर कम्पनीहरूले गरिरहेका छन्। यस विषयमा सम्बन्धित पक्षसँग कूटनीतिक तहमा छलफल गर्ने प्रयास भइरहेको छ’, उनले भने।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ र मलेसियाको बेस्टिनेट एसडीएन बीएचडीबीचको सम्झौता गत मेमा सकिएको छ। बेस्टिनेटसँग सम्झौता नवीकरण भएको छैन। यही सिन्डिकेट उल्ट्याउन महासंघ अध्यक्ष कैलाश खड्का लागिपर्दा मलेसिया कामदार पठाउने समस्या भइरहेको म्यानपावर व्यवसायीहरूको आरोप छ।
मलेसिया रोजगारीमा जाने कामदारमाथि अनावश्यक आर्थिक भार थपेको भन्दै २०७५ मा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ३६ मेडिकल संस्था खारेजी गर्ने निर्णय गरेका थिए। मलेसियामा विदेशी कामदारलाई पनि मलेसियाली नागरिकसरह १५ सय रिंगेट (४७ हजार रुपैयाँ) न्यूनतम तलब तोकेको छ। जसका कारण मलेसियाको रोजगारी आकर्षण बढे पनि नेपाली कामदार जान पाएका छैनन्।