
काठमाडौँ- नेकपा एमालेमा पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा खासै नेताहरू देखिदैनन्। ओलीको कार्यशैलीमा विरोध गरे कारबाही भोग्नुपर्ने भय नेताहरूमा देखिन्छ। भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिना यसका उहारण हुन्।
रावल पार्टीबाटै निकालिएका छन् भने पाण्डे र तिम्सिना पदबाट निलम्बित बनेका छन्। प्रदेशमा समेत कारबाही भोग्नेको लहर छ। यति हुँदाहुँदै पनि केही नेताहरू घुमाउरो शैलीमा पार्टी नेतृत्वको विरोध गरिरहेका छन्। एमाले महासचिव शंकर पोखरेल दुई दलीय एजेन्डाको प्रचारमा लागिरहेका छन्।
उनी साना दलले अस्थिरता छाएको भन्ने निष्कर्षमा छन्। संविधान संशोधनमार्फत थ्रेस होल्ड बढाएर दुई दल मात्र बनाउनुपर्ने पोखरेलको भनाइ छ। यो भनाइले अरू मात्र नभई एमालेभित्र नै ‘बिक्ने’ देखिदैन। यसअघि नै उपमहासचिव एवं सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले मान्न नसकिने संकेत देखाएका छन्।
उनले एक कार्यक्रममा उनले महासचिवको व्यक्तिगत अभिव्यकित भएको बताएका छन्। यसै विषयमा एमालेका एक नेताले असन्तुष्टि देखाएका छन्। सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्य कर्ण थापाले जनताको बहुदलीय जनवादले एकदलीय, दुईदलीय वा दलविहीन व्यवस्थालाई नस्वीकार्ने अभिव्यक्ति दिएका छन्।
थापा यसअघि पनि पार्टी नेतृत्वमा पूर्वराष्ट्रपति विद्या भण्डारी आउनुपर्छ भन्ने अभिव्यक्ति राख्दा एमाले नेतृत्वको ‘आँखी’ बनेका थिए। उनले पछिल्लो समय एमाले नेतृत्वविरुद्ध घुमाउरो शैलीमा आलोचना गरिरहेका छन्। जसको एक उदाहरण, बहुदलीय व्यवस्थाविरुद्धको अभिव्यक्ति हो।
पोखरेलले दुईदलीय व्यवस्थामा मुलुक जानुपर्ने बताउँदै राजनीतिक ध्रुवीकरणको निम्तो दिइरहेका बेला थापाले उनलाई चुनौती दिएका हुन्। पोखरेलले आइतबार मात्रै सामाजिक सञ्जालमार्फत् नै राजनीतिक ध्रुवीकरणको खाँचो रहेको बताएका थिए।
पोखरेलको धारणालाई चुनौती दिने गरी थापाले आफ्नो मत अघि सारेका हुन्। थापाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जनताको बहुदलीय जनवादको मान्यतालाई कसिलो गरी बोक्नसमेत आग्रह गरेका छन्।
‘जनताको बहुदलीय जनवादले एकदलीय, दुईदलीय वा दलविहीन व्यवस्थालाई स्वीकार्दैन। समाजमा रहेको बहुलतालाई स्वीकार्दै वर्गस्थितिका आधारमा बनेका दलहरूका बीचको प्रतिस्पर्धाबाट श्रेष्ठता सावित गर्ने राजनीतिक मान्यतालाई आत्मसात गर्दछ। दलहरूले जनविश्वास प्राप्त गर्नको लागि जनतालाई अपिलसम्म गर्न सक्दछन्। जनता नै अन्तिम निर्णायक शक्ति हुन्, जसले दलहरूको स्थान तोकिदिन्छन्,’ उनले भनेका छन्।
जबजको मान्यताअनुसार जनवादी राज्य सत्ता हुँदै समाजवादको विकासको अन्तिमचरणसम्म पुग्दा पनि यस मान्यतालाई राज्य व्यवस्थामा पालना गरिने उनले बताएका छन्। यस राजनीतिक प्रतिबद्धताले जबजलाई नेपाली क्रान्तिको मौलिक र विशिष्ट सिद्धान्त बनाएको पनि उनले बताएका छन्।
‘जसका कारणले जनताद्वारा व्यापक समर्थन प्राप्त भएको हो। एमालेको सम्पूर्ण पंक्ति जबजको मार्गदर्शनमा चल्नु पर्दछ। पाँचौं राष्टिय महाधिवेशनदेखि दसौं राष्ट्रिय महाधिवेशनको फैसलालाई आत्मसात गर्नु पर्दछ,’ उनले भनेका छन्। कुनै पनि तहको व्यक्तिमा अस्पष्टता छ भने कमिटीमा व्यापक बहस गरिनुपर्ने पनि उनले बताएका छन्।
ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण जबजको दार्शनिक मान्यता भएको बताउँदै आत्मिक नेतृत्वको मान्यतालाई स्वीकार्ने कुराको कल्पना गर्न नसकिने बताएका छन्। ‘सबै स्पष्ट होऔं, जबजको मान्यतालाई कसिलो गरी समातौं,’ उनको आग्रह छ।