
काठमाडौँ- सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई फोन गरेको विषयमा प्रस्टीकरण दिएका छन्।
यसअघि पुनले अध्यादेशमा सहयोग माग्दै पोखरेलले फोन गरेको अभिव्यक्ति दिएका थिए। यता पोखरेलले भने पुनलाई फोन गरेको स्वीकारेका छन्। तर पुनले गोपनीयता भंग गरेको भन्दै पोखरेलले दुखेसो व्यक्त गरेका छन्।
‘नेताहरूका बीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो,’ पोखरेलले लेखेका छन्, ‘पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ। अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन।’
पुनको यो कार्यले उनैलाई नोक्सान हुने पोखरेलको चेतावनी छ। पुनसँग आफ्नो कुराकानीको स्पिरिट पूर्णतः फरक रहेको उनको प्रस्टोक्ति छ। ‘मसँग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ। तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिनँ,’ पोखरेलले लेखेका छन्, ‘वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ।’