![आहारारा गोल्डकपमा पुलिस सेमिफाइनलमा](https://himalpress.com/wp-content/uploads/2025/02/aaha_rara-3.jpg)
पोखरा– पोखरा रंगशालामा सर्वाधिक सफल टिम नेपाल पुलिस क्लब २४ औँ आहारारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
शनिबार पहिलो क्वाटरफाइनलमा पाहुना टोली बिग्रेड ब्वाइज क्लब युकेलाई २–० गोलअन्तरले पराजित गर्दै विभागीय टिम अन्तिम चारमा पुग्न सफल भएको हो।
आहारारामा पछिल्लो चार वर्षयता सेमिफाइनलबाट चुकेको पुलिस यसपालि फेरि सेमिफाइनलमा पुगेको हो।
विवेक पाण्डे र क्याप्टेन राम वाजीको मद्दतमा पहिलो हाफमै २–० ले अग्रता लिएको पुलिसले सो अन्तर अन्तिम ९० मिनेटसम्म कायम गर्न सकेको हो।
खेलको २८ औँ मिनेटमा विवेक पाण्डेले हानेको कर्नर प्रहारमा विपक्षी कीपरले रोक्न सकेनन्। ४० औँ मिनेटमा पाण्डेकै पासमा रामले गोल गर्न सकेका हुन्। उनी म्यान अफ दि म्याच भए।
पुलिसले अब सेमिफाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
आइतबार थ्री स्टार र मछिन्द्र फुटबल क्लबबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।