पोखरा– संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा शुक्रबार अन्तिम प्रिक्वाटरफाइनलमा संकटालाई पराजित गर्न टाला, करण राई र आदर्श तामाङले एकएक गोलको योगदान दिए। जितसँगै अब थण्डरबोल्टले २९ माघमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबसँग अन्तिम क्वाटरफाइनल खेल्नेछ। ब्ल्याक बुल्स शुक्रबारमात्रै नेपाल आइपुगेको छ।
दिनको खेल सुरुआतमै संकटाले टिमलाई अग्रता दिलाए पनि त्यो अग्रता कायम गर्न सकेन। बदलामा थप ३ गोल खान पुग्यो। १७ औँ मिनेटमा संकटाका मनीष पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पासाङ लामाको उत्कृष्ट पासमा डि–बक्समा रहेका मनीषले बललाई सिधै जाली चुमाएका हुन्।
तर, ३४ औँ मिनेटमा पाहुना टोलीले बराबरी खेल्यो। पाएको पेनाल्टी सदुपयोग गर्दै टालाले सहजै गोल गर्न सकेका हुन्। पहिलो हाफ १–१ को बराबरीमा टुंगिएकोमा पाहुना टोलीले ७७ औँ मिनेटमा गोलअन्तर २–१ को स्थितिमा बनायो।
करण राईले आन्द्रेको क्रसमा डि–बक्सबाट सुन्दर गोल गरेका हुन्। त्यसबेला विपक्षी गोलकीपर दीप कार्कीले रोक्न सकेनन्।
त्यस्तै, आदर्श तामाङले ८४ औँ मिनेटमा थप गोल गरी विजय सुनिश्चित पारे। उनले मैदानको मध्यभागबाट प्रहार गरेका थिए।
दुईपल्टको आहारारा गोल्डकप विजेता संकटा भने पोखरा रंगशालामा यसपालि पहिलो खेलबाटै बिदा लिन पुगेको छ।
प्रतियोगिताअन्तर्गत शनिबारदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन्। शनिबार बेलायतको ब्रिगेड ब्वाइज क्लब र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए।
पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई पराजित गरी विजयी यात्रा सुरुआत गरेको हो। १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल ३ फागुनमा हुनेछ।