काठमाडौँ- परराष्ट्र सेवा पूर्वराजदूतहरूको संघ (आफकान) ले मंगलबार काठमाडौँमा नेपालका लागि नवनियुक्त फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभालसँग अन्तरक्रिया गरेको छ।
अन्तरक्रियाका क्रममा राजदूत कोर्टेभालले नेपाल र फ्रान्सबीचको द्वीपक्षीय सम्बन्ध मैत्रीपूर्ण भएको बताइन्। सन् १९५० मा मोरिस हेर्जोगले अन्नपूर्ण हिमालको ऐतिहासिक पहिलो सफल आरोहणको ७५औँ वार्षिकोत्सव मनाइने भएकाले सन् २०२५ नेपाल-फ्रान्स सम्बन्धका लागि महत्त्वपूर्ण वर्ष रहेको उनले बताइन्।
अन्तर्क्रियामा जलवायु परिवर्तनसम्बन्धी छलफल पनि भएको थियो। जसमा राजदूत कोर्टेभालले न्यून कार्बन उत्सर्जक देश भए पनि नेपाल जलवायु परिवर्तनका प्रभावहरू प्रति अत्यन्त संवेदनशील रहेको बताइन्।
उनले नेपाललाई सन् २०२६ भित्र एलडीसी समूहबाट उक्लेन लक्ष्य प्राप्त गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा दुई पटक सगरमाथा आरोहण गरेकी नेपाली आरोही कल्पना महर्जनले आफ्नो प्रेरणादायी यात्रा सुनाएको आफक्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।