
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा चेल्सीले जितको ढोका खोल्दै अंकतालिकाको शीर्ष ४ मा पुगेको छ। सोमबार राति स्टाम्फोर्ड ब्रिजमा वेस्ट ह्याममाथि जित निकाल्दै शीर्ष ४ मा परेको हो।
अघिल्लो दिन हार व्यहोरेको साविक विजेता म्यान्चेस्टर सिटीलाई रोक्दै चेल्सी शीर्ष ४ मा परेको हो। हाल चेल्सीको २४ खेलबाट ४३ अंक छ भने सिटीको समान खेलबाट ४१ अंक छ। यता, शीर्ष ३ मा रहेको नटङ्घम फारेस्टको २४ खेलबाट ४७ अंक छ।
वेस्ट ह्याममाथि चेल्सीले २-१ ले महत्त्वपूर्ण जित हात पारेको हो। इंग्ल्यान्डका फरवार्ड जारोड बोवेनले ६ खेल गुमाएपछि पुनः मैदानमा फर्किएका थिए। पहिलो हाफको ४२औं मिनेटमा उनले वेस्ट ह्यामलाई अग्रता दिलाए।
लेभी कोलविलले दिएको ब्याक पास निकै कमजोर रह्यो। जसको फाइदा उठाउँदै बोवेनले गोलकिपर फिलिप योर्गेन्सेनलाई छलाएर गोल गरे। योर्गेन्सेनले लय गुमाएका रबर्ट सान्चेजको स्थान लिएका थिए।
तर, वेस्ट ह्यामले खेलमा नियन्त्रण लिने संकेत दिइरहेको बेला चेल्सीले खेलमा पुनरागमन गर्यो। एनजो फर्नान्डेजको प्रहार वेस्ट ह्यामको डिफेन्डरले लाइनमा रोके पनि रिबाउन्ड पेड्रो नेटोले बल जित्दै गोल गरे।
खेलको अन्तिम १६ मिनेट बाँकी छँदा कोल पामरको प्रयासले चेल्सीलाई विजय दिलायो। पामरले दिएको क्रस वेस्ट ह्यामका डिफेन्डर आरोन वान-बिसाकाको खुट्टामा लागेर आत्मघाती गोलमा परिणत भयो।