काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय तहका विभिन्न पदमा नेताहरूले आकांक्षा देखाएका छन्। पदाधिकारीमा प्रतिस्पर्धाका लागि आफू निकटका प्रतिनिधिहरूसँग भेला र छलफल तीव्र बनाएका हुन्।
यही माघ २७, २८ र २९ गते प्रज्ञाभवनमा हुने महाधिवेशनबाट नयाँ शक्तिको नयाँ नेतृत्व चयन हुनेछ। पदाधिकारीमा अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेशी, एक खसआर्य र एक दलित), महासचिव, तीन सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ।
महाधिवेशन देशभरबाट १६ सय प्रतिनिधि उपस्थित हुँदैछन्। ती प्रतिनिधिले पार्टीका अध्यक्ष, पदाधिकारीहरू समावेशी र समानुपातिक आधारमा प्रत्यक्ष निर्वाचित प्रणालीद्वारा चुन्ने प्रवक्ता कृष्ण शर्माले जानकारी दिए। कात्तिक ५ र ६ गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने व्यवस्थासहितको विधान अनुमोदन गरेको थियो।
‘अध्यक्षमा निर्विकल्प बाबुराम’
प्रवक्ता शर्मा अध्यक्षमा तत्कालका लागि बाबुराम भट्टराईको विकल्प नभएको बताउँछन्। उनले नेतृत्वका लागि पार्टी पंक्तिका जोकसैले प्रतिस्पर्धा गर्न सक्ने भए पनि भट्टराईको नेतृत्वमा मात्रै वैकल्पिक राजनीतिक शक्तिलाई उचाइतर्फ लैजान सकिने बताए।
शर्माले भने, ‘नयाँ शक्तिको परिकल्पनाकार उहाँ नै हुनुहुन्छ। हामी उहाँको नेतृत्व होस् भन्ने चाहन्छौँ। लोकतान्त्रिक प्रतिस्पर्धामा अन्य नेताहरूले पनि आकांक्षा राख्नु स्वाभाविक हो।’
मुलुकसामु आर्थिक क्रान्ति गरेर देशमा रहेको बेरोजगारी र गरिबी हटाउने उद्देश्यले नयाँ शक्ति पार्टी स्थापना भएको हो। ‘स्वाधीनता, समावेशी लोकतन्त्र, समृद्धि, सुशासन र समाजवादका प्रणेता भनेका बाबुराम भट्टराई हो। उहाँको नीति भएकाले नेतृत्व पनि उहाँले नै गर्नुपर्छ। उहाँ निर्वाचित हुनुहुनेछ तर निर्विरोध होइन प्रतिस्पर्धाका आधारमा’, शर्माले भने।
नेत्र चापागाईँले अध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेका छन्। चापागाईँले महाधिवेशनमा अध्यक्षका लागि चुनाव लड्ने तयारी गरेको बताए। उनी भन्छन्, ‘पार्टीमा आन्तरिक लोकतन्त्र स्थापित गर्न, यो बाबुरामको होइन नागरिकको पार्टी हो भन्ने स्थापित गर्न, पार्टीको नेतृत्व युवाहरूलाई दिने बाबुराम भट्टराईको जुन सोच छ त्यसलाई कार्यान्वयन गर्न मैले अध्यक्षका लागि तयारी गरेको छु।’ नेसपा नयाँ शक्तिको विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। माघ १७ गते सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट उनले नेतृत्वबाट बिदा लिएका थिए।
चापागाईँले डा. भट्टराईसँग भाग्ने होइन प्रतिस्पर्धा गर्ने बताए। उनले अध्यक्षका लागि प्रतिनिधिहरूसँग छलफल गरेर एजेन्डा तय गर्ने जानकारी दिए। त्यसैगरी नेता किरण थापाले पनि अध्यक्षका लागि तयारी गरेका छन्।
महासचिवमा धेरै आकांक्षी
पार्टीमा अध्यक्षपछिको महत्त्वपूर्ण पद महासचिव हो। महासचिवका लागि धेरै नेताहरू आकांक्षी छन्। डा. जनक शाह, कृष्ण शर्मा, ईश्वर रिजाल, जीएस गुरुङ, सोनामसिं लामालगायतले महासचिवमा आकांक्षा देखाएको प्रतिनिधिहरूले बताए। डा. जनक शाहले आफू खसआर्यबाट उपाध्यक्ष वा महासचिवमा आकांक्षी रहेको बताए। तर यो पदमा कुनै युवा आउन चाहन्छन् भने उनीहरूका लागि मार्गप्रशस्त गर्न आफू तयार रहेको बताए। उनले भने, ‘मैले कुन पदमा उठ्ने भन्ने निर्णय गरिसकेको छैन। साथीहरूसँग सल्लाह गर्दैछु। खस आर्यबाट उपाध्यक्ष वा महासचिवमा मेरो इच्छा छ। यसका लागि कुनै युवा साथीहरू आउनुहुन्छ भने छोड्न तयार छु।’
प्रवक्ता शर्मा पनि महासचिवमा आकांक्षी छन्। अन्य नेताहरूबाट पनि आफूलाई महासचिवका लागि उठ्न सुझाव आएको शर्मा बताउँछन्। उनले भने, ‘महासचिवका लागि सोच बनाएको छु।’ उनले महाधिवेशनमा लोकतन्त्रको असली अभ्यास हुने जानकारी दिँदै दलित, जनजातिको संरक्षित पदबाहेक अन्यमा चुनाव हुने बताए। उनले भने, ‘दलित, जनजातिका संरक्षित कोटा बाहेक अन्यमा पदका लागि चुनाव हुन्छ। प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्छौँ। बाबुराम भट्टराईलाई समेत निर्विरोध नगर्ने भनेका छौँ।’
समानुपातिक, समावेशी सिद्धान्तका आधारमा पार्टी सदस्यहरूबाट चुनिएर १५ सय प्रतिनिधि महाधिवेशनमा आउने शर्माले बताए। शर्माले २०७२ सालमा स्थापना भएको नयाँ शक्तिलाई नयाँ ढंगले निरन्तरता दिएको र आन्तरिक लोकतन्त्र उदाहरण महाधिवेशनले दिने बताए। पुराना राजनीतिक पार्टीले सार्वभौम अधिकार प्रयोग गरेर पार्टी सदस्यले नेतृत्व चुन्छन् भन्ने नयाँ शक्तिको महाधिवेशनबाट सिक्ने शर्माले दाबी गरे।
पार्टी महाधिवेशन प्रक्रियामा जानुअघि कार्यवाहक महासचिव रहेका नेता ईश्वर रिजाल महासचिवका अर्का आकांक्षी हुन्। देशको सम्पूर्ण भूगोल बुझेको, भुइँ तहका जनतासम्म पुगेर पार्टी बनाएको, पार्टीलाई सही मार्गदिशा दिँदै आएकाले आफूले महासचिव दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ।
रिजाल भन्छन्, ‘महासचिवमा मेरो दाबी रहन्छ। पार्टी महाधिवेशन प्रक्रियामा जानुअघि सचिव थिएँ। पछि कार्यवाहक महासचिव भएँ। खुट्टाले टेकेर ७२ जिल्ला पुगेको छु। अब पाँचवटा जिल्ला मात्र बाँकी छ।’ ढेड वर्षको बीचमा कार्यक्षेत्र परिवर्तन गरी चारवटा प्रदेशको जिम्मेवारी लिएर काम गरेको उनले बताए। ‘समाजलाई बुझ्ने, चिन्ने, मुलुकको भूगोललाई चिन्नसक्ने मान्छे लिडर हुनसक्छ। पार्टीमा चाहिने भनेको नीतिप्रति प्रतिबद्ध र कर्मठ हुनुपर्छ। पार्टीलाई समय दिन सक्नुपर्छ। कसैसँग एकता नगरी वैकल्पिक शक्तिलाई स्थापित गराउनुपर्छ। यी सबै हिसाबले पार्टीमा मुख्य भूमिकाबाट बाहिरिहुन्न भन्ने लागेको छ।’
नेसपा नयाँ शक्ति नेतृ दुर्गा सोबले आफूले उपाध्यक्षमा आकांक्षा राखेको बताइन्। उनलाई वरिष्ठताका आधार निर्विरोध उपाध्यक्ष चयन गर्ने तयारी पार्टीको रहेको एक नेताले जानकारी दिए। उनले भने, ‘ उपाध्यक्षमा दुर्गा सोब करिबकरिब निर्विरोध हो। उहाँ दलित आन्दोलनबाट आउनुभएको, उच्च ओहोदामा पुग्नुभएको नेता हो।’
जनजातिको कलस्टरका आधारमा अहिलेसम्मका नेताहरूमध्ये सबैभन्दा वरिष्ठ सोनामसिं लामा हुन्। वरिष्ठताका आधारमा उपाध्यक्षमाको लामाको सम्भावना उच्च छ। ती नेता भन्छन्, ‘हामीले पार्टी निर्माण गर्नुछ। व्यक्तिको प्रश्न होइन। खस आर्यबाट अध्यक्ष डा.बाबुराम भट्टराई हुँदा महासचिवमा जनजातिबाट उहाँ हुँदा उत्तम हुने चर्चा पार्टीमा छ।’
रिजालले लामालाई महासचिवमा स्वीकार गर्न सकिने बताए। उनले भने, ‘केही दिनमा पार्टीको बैठक बस्दैछ। बैठकले सोनामलाई महासचिव उम्मेदवार बनाए म उपाध्यक्षमा वा सचिवमा जानसक्छु।’ रिजालले महासचिवमा कि लामा कि आफू निश्चित भएको बताए। उनको दाबी छ, ‘सोनामजी र म एकजना महासचिव हुन्छौँ होला। उहाँ उपाध्यक्षमा गए म महासचिव, म महासचिवमा गए उहाँ उपाध्यक्ष हुन्छ होला।’ कोही नछुट्ने, कोही कसैलाई पनि मान र अपमान नहुने गरी पार्टी निर्माण गरेरै जाने पक्षमा आफूहरू रहेको नेता रिजालले बताए।
महासचिवमा जीएस गुरुङ र हेमबहादुर थापाको नाम पनि चर्चामा छ। यी दुई जनाबारे बोल्दै पार्टीका एक प्रभावशाली नेताले जीएस र हेमबहादुर महासचिवभन्दा भन्दा सचिवमा आउनुपर्ने बताए। उनले भने,‘ महासचिव होइन सचिवमा आउनुपर्छ। महाचिव लड्नुहुन्छ भने पनि फरक पर्दैन। साथीहरूले चुन्ने कुरा हो।’ गुरुङ भने पार्टीमा युवाको प्रतिनिधित्व गर्न महासचिवमा उम्मेदवारी दिने बताउँछन्। उनले भने, ‘वैकल्पिक शक्तिका रुपमा उदय भएको हाम्रो पार्टीमा युवाको प्रतिनिधित्व गर्न महासचिवमा उम्मेदवारी दिन्छु।’
बाबुराम परिवारमा हिसिला ‘ब्याक’
डा. बाबुराम भट्टराईलाई श्रीमती हिसिला यमि र छोरी मानुषीलाई पार्टी पदाधिकारीमा राखेको भन्दै आलोचना हुने गर्छ। यस्तो आलोचनाबाट मुक्त हुन बाबुरामले हिसिला र मानुषीलाई कुनै पदका लागि आग्रह गरेका छैनन्। पूर्वमन्त्रीसमेत रहेकी हिसिला यसअघि पार्टी उपाध्यक्ष थिइन्। उनी आफू पार्टीको साधारण सदस्य मात्रै हुने बताउँछिन्। उनले हिमालप्रेससँग उनले भनिन्, ‘म पार्टीको कुनै पदमा बस्दिनँ। साधारण सदस्य मात्र हुन्छु।’
मानुषी एक युवा बौद्धिक क्रियाशील नेतृ हुन्। गत आम चुनावमा काठमाडौँ-७ बाट चुनाव लडेकी मानुषीको पार्टीमा चर्चा छ। उनी हाल पार्टीको प्रचारप्रसार तथा आईटी विभाग प्रमुखको जिम्मेवारीमा छिन्। महाधिवेशनमा भने कुन पदमा उठ्ने सोच बनाइनसकेको उनले जानकारी दिइन्। उनले भनिन्, ‘मैले अहिलेसम्म कुन पदमा उठ्न नउठ्ने योजना बनाइसकेको छैन। अहिलेकै जिम्मेवारी पनि बेठिक छैन।’
बाबुरामले पनि छोरी मानुषीलाई यहि पदमा उठ्नुपर्छ भनेर भनेका छैनन्। पार्टीका एक नेताले भने, ‘हिसिला दिदी निस्कँदै गर्दा मानुषीलाई सचिवमा ल्याउन सक्छौँ भने मैले बाबुराम सरलाई सोधेको थिएँ। उहाँ (बाबुराम) ले ‘मैले कसैलाई यो गर भन्दिनँ। मैले अहिलेसम्म मानुषीसँग कुरा गरेको पनि छैन, के गर्छौँ भनेर। उनले उम्मेदवारी दिइन् भने उनको इच्छाको कुरो। दिइनन् भने पनि उनको इच्छाको कुरा हो। मलाई विवादमा नपार्नू। जुन पदमा आउन चाहेको हो प्रतिस्पर्धी भएर आउनू’ भन्नुभयो।’
स्रोतका अनुसार पार्टीले महिलाबाट मानुषीलाई सचिव बनाउन चाहेको छ। मानुषीभन्दा वरिष्ठ सिर्जना रिजाल हुन्। गतिशीलता र क्षमता सबै हिसाबले मानुषीलाई सचिव बनाएर सिर्जनालाई कोषाध्यक्ष बनाउने चर्चा नेसपा नेताहरूमा चलेको छ। बाबुरामनिकट एक नेताले भने, ‘एकै परिवारबाट तीनजना पदाधिकारी रहनेस्थिति आउने हुँदा मानुषीलाई सचिवमा ल्याउन हिसिला यमि ब्याक हट्नुभएको हो।`
त्यस्तै, नेताका भक्तबहादुर शाह, रोशन पोखरेल नेताले कुनै पनि पदको जिम्मेवारी नलिने बताएका छन्।