श्रममन्त्री भण्डारीलाई ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्

हिमाल प्रेस १ फागुन २०८१ १७:२५ | Thursday, February 13, 2025
श्रममन्त्री भण्डारीलाई ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका तर्फबाट सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका शरत्‌सिंह भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका छन्। सरकारले संसद्को अधिवेशन हुनुभन्दा एक साताअघि जारी गरेको विभिन्न ६ अध्यादेशलाई लिएर सरकार नैतिक संकटमा परेको भन्दै ठाकुरले मन्त्री भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका हुन्।

सत्ता साझेदार दल लोसपाले सरकारले ल्याएकामध्ये भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ। भूमिसम्बन्धी अध्यादेश पास हुने सम्भावना न्यून रहेकाले सरकारमाथि नैतिक संकट आइपरेको अध्यक्ष ठाकुरको भनाइ छ। उनले मन्त्री भण्डारीलाई गर्नुपर्ने काम एक दुई दिनमा सक्न निर्देशन दिएका छन्।

सर्लाहीमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए। सरकारमाथि मात्रै नभएर आफ्नो पार्टी पनि नैतिक संकटमा परेको उनको भनाइ छ। ‘सरकारमा बसेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट हो। सरकारमा सहभागी पार्टीका मन्त्रीलाई एक दुई दिनमा के–के गर्नुछ गरिहाल्नुस् भनेको छु,’ ठाकुरले भने।

अध्यादेश ल्याउँदा आफूहरूसँग कुनै छलफल नभएको उनले बताए। भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरीत रहेको भन्दै लोसपाले अस्वीकार गर्ने निर्णय गरेको छ। यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको ठहर छ। सरकारमा सहभागी लोसपा र समर्थन गरेको जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ। दुवै दलले यो निर्णय गरेपछि राष्ट्रियसभाबाट अध्यादेश पास हुने सम्भावना क्षीण भएको छ। मन्त्री भण्डारी लोसपा नेपालका वरिष्ठ नेता हुन्। लोसपाबाट संघीय संसद्को प्रतिनिधिसभामा चार र राष्ट्रियसभामा एक गरी पाँच सांसद छन्।

प्रकाशित: १ फागुन २०८१ १७:२५ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast