माओवादीसँग एकता हुँदैन : एकीकृत समाजवादी

हिमाल प्रेस ५ फागुन २०८१ ७:०२ | Monday, February 17, 2025
माओवादीसँग एकता हुँदैन : एकीकृत समाजवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेताहरू अहिले नेकपा एकीकृत समाजवादीसँग एकता हुन लागेको बताइरहेका छन्। केही दिनअघि माओवादी उपमहासचिव वर्षमान पुनले समाजवादीसँग तत्काल एकता हुने दाबी गरेका थिए। उनले आफूहरू एकताको पक्षमा उभिएकाले समाजवादी पहिलो प्राथमिकतामा रहेको बताएका थिए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मधेशको एक कार्यक्रममा समाजवादीसँग एकता हुनै लागेको बताएका थिए। तर, यता समाजवादीले भने तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नभएको बताएको छ। समाजवादीले एकताका लागि कुनै वार्ता समिति नबनेको र एकता गर्ने मनस्थितिमा नरहेको स्पष्टीकरण दिएको छ।

‘हामी पार्टी बनाउने कार्यक्रम र छलफलमा छौँ। एकता गर्ने मनस्थितमा छैनौँ,’ पार्टी प्रचार विभागका उपप्रमुख एवं पोलिट्ब्युरो सदस्य दामोदर अर्यालले भने,‘बरु हामी यतिखेर जनताका मुद्दालाई सूत्रबद्ध गरेर आन्दोलन गर्ने मनस्थितिमा छौँ। यही प्रयोजनका निम्ति यहि फागुन ७ गते पोलिटब्युरो र ८-९ गते केन्द्रीय कमिटीको बैठक बस्दैछौँ।’

उनले माओवादीसँग थुप्रै सैद्धान्ति मतभिन्नता रहेको बताएका छन्। ‘हामी अब समाजवादी कार्यदिशाका साथ समाजवाद प्राप्तिका आधारहरु निर्माण गर्ने अभियानमा छौँ, जबकी माओवादीहरु अझै माओवादको फुर्को छोडन सकेका छैनन्।’

अर्यालले भने, ‘त्यसबाहेक उनीहरूको र हाम्रो इतिहासलाई हेर्ने सन्दर्भमा समेत मतभिन्नताहरु छन्। त्यसबाहेक हाम्रा कार्यशैलीहरुमा समेत ठूलो भिन्नता छ।’ अर्यालले माओवादीसँग समाजवादी मोर्चामै सीमित हुने बताएका छन्। ‘हामी समान धारणा भएका विषयमा समाजवादी मोर्चामार्फत सहकार्य गर्न सक्छौँ तर एकता गर्दैनौँ।’

अर्याल आफूहरू समग्र वामपन्थी पार्टीकाबीच एउटै पार्टी बनाउने अभियानमा भने निरन्तर चलिरहेको बताउँछन्। ‘समग्र कम्युनिस्ट पार्टीहरू एक ठाउँमा नउभ्भिकन वा पार्टी एकता नगरेसम्म समाजवाद प्राप्त गर्न सकिन्न भन्ने तथ्यमा हामी सचेत छौँ,’ उनी भन्छन्,‘यतिखेर हाम्रो प्रयत्न भनेको समग्र वाम एकता हो, कुनै एउटा पार्टीसँग मात्र होइन।’

प्रकाशित: ५ फागुन २०८१ ७:०२ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast