 
                             
                                            ललितपुर- नेपाली कांग्रेस ललितपुरले पार्टीको १५ औँ अधिवेशनमा महामन्त्री पदमा नैनसिंह महरलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल शिक्षक संघ ललितपुर जिल्ला कार्यसमितिले बुधबार आयोजना गरेको प्रतिनिधिसभा कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन्।
श्रेष्ठले भने, ‘नेता महरले धेरै अगाडिदेखि नै १५ औँ महाधिवेशनमा पार्टीको महामन्त्रीको प्रतिस्पर्धी हुने भनेर तयारी गर्नुभएको छ। तपाईँ उच्च मनोबलका साथ अघि बढ्नुस्। ललितपुर जिल्ला कार्यसमितिका मलगायतका साथीहरूले महामन्त्रीमा सहयोग गर्नेछौँ।’ नेता महर कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कांग्रेस केन्द्रीय सदस्य महर हाल पार्टीको शिक्षा विभाग प्रमुख छन्। श्रेष्ठले जुनसुकै टिमबाट प्रतिस्पर्धा गरे पनि ललितपुरले महरलाई सघाउने प्रतिबद्धता जनाएका छन्। श्रेष्ठले अहिलेको जमाना युवाको भएकाले युवा नेतृत्वमा अगाडि आउनुपर्नेमा जोड दिए। युवा नेतालाई अगाडि बढाउन नसक्ने हो भने आगामी चुनावमा पार्टीले भनेजस्तो नतिजा ल्याउन नसक्ने पनि श्रेष्ठले बताए।
पार्टीको नेतृत्वमा पुग्न महरको सक्रियता निकै लोभलाग्दो रहेको भनाइ श्रेष्ठको छ। उनले पुराना र युवा नेतृत्वको समन्वयले मात्रै पार्टीको संगठन जीवन्त हुने बताए। श्रेष्ठले भने, ‘कांग्रेसमा सबैलाई एउटै छातामुनि राख्ने नेतामा महर देखिनुभएको छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 