 नेविसंघ पब्लिक युथ क्याम्पसले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता समापन समारोहमा कांग्रेस नेता नैनसिंह महर।
                             नेविसंघ पब्लिक युथ क्याम्पसले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता समापन समारोहमा कांग्रेस नेता नैनसिंह महर।
                                            काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरले नेविसंघ पब्लिक युथ क्याम्पस काठमाडौँले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
निश्चित समयमा हुने जुनसुकै आवधिक निर्वाचनले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले स्ववियु चुनाव पनि समयमै हुनुपर्ने महरको धारणा छ। ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिनी पार्ल्यामेन्टको निर्वाचन हो। राजनीति मात्र नभएर विद्यार्थीका अतिरिक्त क्रियाकलाप, वृत्ति विकास, व्यक्तित्व र नेतृत्वको क्षमता अभिवृद्धि गर्नका लागि पनि स्ववियु निर्वाचन आवश्यक छ’, उनले भने।
त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन तालिका सार्वजनिक गरिसकेकाले तयारीमा जुट्न उनले देशभरका नेविसंघ नेताकार्यकर्तालाई आग्रह गरेका छन्। ‘तपाईंहरू जित्नेगरी स्ववियु तयारीमा जुट्नुहोस्। विद्यार्थीको मन जित्ने काम गर्नुहोस्। पार्टी पूर्ण रूपले नेविसंघको साथमा छ। कांग्रेस र यसका भ्रातृसंस्थाले तपाईंहरूलाई विजयी गराउन भूमिका खेल्नेछन्’, उनले भने।
वैधानिक रूपमा समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न विश्वविद्यालय र सरकार थप गम्भीर भएर काम गर्न आवश्यक रहेको उनले बताएका छन्। कतैबाट पनि स्ववियु निर्वाचनलाई प्रभावित गर्ने कार्य गर्न नहुने र त्यस्तो भएमा कांग्रेसलाई स्वीकार्य नहुने उनको चेतावनी छ।
‘विद्यार्थी नेता र विद्यार्थीको हितका लागि काम गर्ने संस्था स्ववियुको निर्वाचन प्रभावित हुनु हुँदैन। यसमा विश्वविद्यालय र सरकार गम्भीर हुनुपर्छ। निर्वाचन कुनै बहानामा प्रभावित भएमा हामी कडा प्रतिवाद गर्नेछौँ’ उनले भने।
समयमै नयाँ नेतृत्व चयन हुँदा त्यसमा ऊर्जा भरिएको हुने र क्याम्पस तथा विद्यार्थीको हकका लागि निकै लाभदायक हुने उनको भनाइ छ। ‘स्ववियुका माध्यमले नयाँ नेतृत्व चयन हुने र शिक्षामा गुणस्तरियता कायम गर्न सहयोगसमेत पुग्ने भएकाले देशमा परिवर्तनको संवाहक बन्न, योग्य नेतृत्व लिन आकांक्षा बोकेर देशभर छरिएरका साथीहरू चुनावमा होमिनुहोस्। स्ववियु जितेर तपाईंहरू नवीन ऊर्जाका साथ काम गर्नुहोला’, उनले भने।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने गरी स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ। निर्वाचन तालिकाअनुसार संघसंगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ। २१ गते मतदाता सूची प्रकाशन गरिने र २७ गते उम्मेदवारी दर्ता गर्ने गरी मिति तय गरिएको छ। उम्मेदवारको चैत २ गते राति १२ बजेपछि मौन अवधि लागू हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने तालिकामा उल्लेख छ।

 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 